काठमाडौँ, असार २२ गते
मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा बालबालिकासम्बन्धी दफाहरूमा प्रस्तावित संशोधनबारे सरोकारवालाबीच दफागत छलफल गरिएको छ । भ्वाइस अफ चिल्ड्रेन (बाल आवाज) को आयोजना तथा बालकहरूलाई हुने यौन हिंसा अन्त्यका लागि राष्ट्रिय सञ्जाल, राष्ट्रिय बालसंरक्षण सञ्जाललगायतका संस्थाको सहकार्यमा सोमबार काठमाडौँमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यव्रmममा विधेयकमा प्रस्तावित संशोधनका विषयमा राजेश शर्माले प्रस्तुति राख्नुभएकोे थियो । सो प्रस्तुतिपछि बालअधिकारकर्मी, कानुन व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा बाल संरक्षणका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिले दफागत रूपमा छलफल गरी सुझाव दिएका थिए ।
छलफलमा सहभागीहरूले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी कानुनी व्यवस्था थप स्पष्ट, व्यवहारिक र बालमैत्री बनाउनुपर्नेमा जोड दिए । बाल यौन दुरुपयोगसम्बन्धी व्यवस्थामा गरिएको संशोधन सकारात्मक भए पनि ‘आशयकरणी’ लाई छुट्टै कसुरका रूपमा कानुनमा स्पष्ट व्यवस्था गर्नुपर्ने, हदम्याद तथा उमेरसम्बन्धी केही प्रावधानमा रहेका विरोधाभास हटाउनुपर्ने सुझाव दिइएको थियो । बालबालिकामाथि हुने यौन हिंसा तथा दुव्र्यवहारका घटनामा पीडितमैत्री न्याय प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए ।
भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले बालबालिकाको अधिकार संरक्षण र कानुनी सुधारका क्षेत्रमा देखिएका व्यावहारिक जटिलता समाधान गर्न निरन्तर खबरदारी, अनुगमन र नीतिगत पैरवी आवश्यक रहेको बताउनुभयो । उहाँले छलफलबाट प्राप्त सुझावलाई संसदीय उपसमिति तथा सम्बन्धित निकायसमक्ष प्रस्तुत गरी आवश्यक कानुनी संशोधनका लागि निरन्तर पहल गरिने जानकारी दिनुभयो ।
कार्यव्रmममा उठेका सुझावले नेपालको संविधान, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा विद्यमान कानुनी व्यवस्थालाई थप समयानुकूल बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए । विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन रहेको छ र यसमा बालबालिकासम्बन्धी विभिन्न दफामा संशोधन प्रस्ताव गरिएको छ ।
