ब्रसेल्समा भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइयो


ब्रसेल्स, बेल्जियम / प्रवासमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भानु जयन्तीका रूपमा बेल्जियमको ब्रसेल्सस्थित नेपाली राजदूतावासमा भव्य रूपमा मनाइएको छ।

नेपाली राजदूतावास, ब्रसेल्स र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महामहिम राजदूत सेवा लम्साल र अनेसास बेल्जियमका अध्यक्ष लोकनाथ शर्माले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। त्यसपछि सहभागीहरूले राष्ट्रिय गानमा सरिक भएका थिए।

समारोहलाई सम्बोधन गर्दै राजदूत लम्सालले नेपाली भाषा, साहित्य तथा सांस्कृतिक भावनात्मक एकतामा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले भानुभक्तको जीवनी र सिर्जनाहरूको सान्दर्भिकताबारे चर्चा गर्दै यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी एकता सुदृढ गर्नुका साथै नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अनेसासका संस्थापक उपाध्यक्ष बिमल गिरीले आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको दोस्रो सत्र साहित्यिक वाचनमा केन्द्रित थियो। सहभागीहरूले देशप्रेम, प्रवासी जीवनका भोगाइ तथा समसामयिक विषयमा आधारित कविता, गजल र अन्य साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा लोकनाथ शर्मा, बिमल गिरी, ब्रम्हदत्त वाग्ले, सन्तोष न्यौपाने, अच्युत ढकाल, ईश्वरी शर्मा, लीलाधर पन्त, कान्ती अधिकारी, श्रृजना कार्की थापा, जमुना गैरे बास्तोला, ओम शर्मा, भीम सुबेदी, हरि श्रेष्ठ र ऋचा भट्टराईलगायतले आफ्ना रचना तथा भानुभक्तका सिर्जना वाचन गरेका थिए।

समापनका क्रममा अनेसास बेल्जियमका अध्यक्ष लोकनाथ शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने राजदूतावास परिवार तथा उपस्थित नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आफ्नै कविता समेत वाचन गर्नुभएको थियो।

बेल्जियमस्थित विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अन्त्यमा उपस्थित पाहुनाहरूका लागि जलपानको व्यवस्था गरिएको थियो।

Previous Post Next Post