विशाल बजारमा एईडी जडान, समुदायस्तरमै जीवन बचाउने प्रयास

काठमाडौं । काठमाडौँस्थित विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी) जडान गरिएको छ । समुदायमा आधारित जीवनरक्षक सेवा तथा आपतकालीन तयारीलाई सुदृढ बनाउने उद्देश्यसहित उक्त उपकरण स्थापना गरिएको हो ।

हाप्सा नेपालले केही महिनाअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सार्वजनिक एईडी कार्यक्रम सुरु गरेपछि यो दोस्रो सार्वजनिक स्थानमा एईडी जडान गरेको जनाएको छ । यस पहलमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोग रहेको छ ।

आपतकालीन अवस्थाहरूमा सर्वसाधारणले प्रयोग गर्न सक्ने गरी राखिएको एईडीको निगरानी र सुरक्षामा विशाल बजार कम्प्लेक्स तथा नेपाल प्रहरीले सहकार्य गर्ने जनाइएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपतकालीन अवस्थामा प्रहरी प्रायः सबैभन्दा पहिले घटनास्थलमा पुग्ने भएकाले जीवनरक्षक सीप र एईडी जस्ता उपकरणको पहुँचले बिरामी अस्पताल पुग्नुअघि नै जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

हाप्सा नेपालका उपाध्यक्ष तथा सिपिआर कार्यक्रम प्रमुख डा. कमल थापाले सपिङ सेन्टर र व्यावसायिक केन्द्रहरूमा दैनिक हजारौँ मानिसको आवतजावत हुने भएकाले यस्ता स्थानमा एईडी जडान आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अचानक हुने कार्डियाक अरेस्टमा छिटो प्रतिक्रिया दिन सार्वजनिक रूपमा उपलब्ध उपकरण प्रभावकारी हुन सक्छ ।

संस्थाका अनुसार नेपालमा अस्पतालबाहिर हुने कार्डियाक अरेस्टपछि बाँच्ने दर अत्यन्त न्यून रहेको अनुमान गरिएको छ । समयमा पहिचान नहुनु, प्रारम्भिक सिपिआरको अभाव र डिफिब्रिलेसन सेवामा सीमित पहुँच यसका प्रमुख कारण मानिएका छन् ।

विशाल बजारमा जडान गरिएको एईडीमा स्पष्ट दृश्यात्मक निर्देशन तथा छोटो जानकारीमूलक भिडियोमा लैजाने क्यूआर कोड समावेश गरिएको छ, जसले आपतकालीन अवस्थामा तत्काल मार्गदर्शन प्राप्त गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

यो कार्यक्रम हाप्सा नेपालको नेपाल लाइफसेभर्स कार्यक्रम अन्तरगत सञ्चालन भइरहेको हो । संस्थाले हालसम्म दुई हजार पाँच सयभन्दा बढी सशस्त्र प्रहरी बलका सदस्यलाई सिपिआर तालिम प्रदान गरेको छ भने विद्यालयस्तरीय सिपिआर शिक्षा कार्यक्रम सुरु गरेको छ । यस्तै जीवनरक्षक सीपलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न सम्बन्धित निकायसँग सहकार्य गरिरहेको जनाएको छ ।

हाप्सा नेपालका संस्थापक तथा प्रमुख रणनीतिकार डा. रामु खरेलले सार्वजनिक एईडी पहुँच, सिपिआर तालिम र समुदायको सहभागितालाई जोडेर अचानक कार्डियाक अरेस्टबाट बढी मानिस बचाउन सकिने बताउनुभयो ।

के हो अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी) ?

अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी) अचानक मुटुको धड्कन बन्द हुने अवस्थालाई लक्षित गरी प्रयोग गरिने जीवनरक्षक उपकरण हो । यसले मुटुको विद्युत लय परीक्षण गरी आवश्यक परे विद्युत् झट्का दिएर मुटुलाई पुनः सामान्य रूपमा धड्किन सहयोग पु¥याउँछ ।

विशेषज्ञहरूका अनुसार एईडी मुख्यतः कार्डियाक एरेस्ट अर्थात् अचानक मुटु बन्द हुने अवस्थामा प्रयोग गरिन्छ । यस्तो अवस्थामा केही मिनेटभित्र उपचार सुरु गर्न नसके बिरामीको ज्यान जोखिममा पर्न सक्छ ।

एईडी एउटा पोर्टेबल उपकरण हो, जसलाई अस्पताल बाहिरका सार्वजनिक स्थानहरूमा समेत राख्न सकिन्छ । उपकरणमा हुने आवाज तथा दृश्यात्मक निर्देशनका आधारमा स्वास्थ्यकर्मी नभएका व्यक्तिले पनि आपतकालीन अवस्थामा यसको प्रयोग गर्न सक्छन् ।

एईडी प्रयोग गर्दा बिरामीको छातीमा विशेष प्याड राखिन्छ । त्यसपछि उपकरणले मुटुको अवस्था विश्लेषण गरी विद्युत झट्का आवश्यक भए वा नभएको निर्णय गर्छ । आवश्यक परेको अवस्थामा मात्र झट्का दिने भएकाले यसको प्रयोग सुरक्षित मानिन्छ ।

विशेषज्ञहरूले अचानक मुटु बन्द भएको अवस्थामा तत्काल आपतकालीन सहायता बोलाउने, सिपिआर सुरु गर्ने र उपलब्ध भए एईडी प्रयोग गर्ने सल्लाह दिएका छन् । प्रारम्भिक प्रतिक्रिया र छिटो उपचारले बिरामीको बाँच्ने सम्भावना उल्लेखनीय रूपमा बढाउन सक्छ ।

विश्वका धेरै विमानस्थल, सपिङ सेन्टर, खेलस्थल तथा सार्वजनिक भवनहरूमा एईडी जडान गर्ने अभ्यास विस्तार हुँदै गएको छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा सार्वजनिक पहुँचमा एईडी विस्तार गर्ने पहलहरू बढ्दै गएका छन् ।





Previous Post Next Post