अन्तर्राष्ट्रिय गोष्ठीमा डा. सुशील आवलेको प्रस्तुति, नेपालको उपस्थिति बलियो

जपान । जापानको साप्पोरोमा सम्पन्न एएमएफ अन्तर्राष्ट्रिय गोष्ठीमा डा. सुशील आवलेको प्रस्तुतिले नेपालको मार्केटिङ तथा अनुसन्धान क्षेत्रले अन्तराष्ट्रिय मञ्चमा उल्लेखनीय उपस्थिति जनाएको छ ।

पर्यटन प्रवद्र्धनसम्बन्धी अनुसन्धानमा आधारित उहाँको प्रस्तुतिलाई नेपालको बौद्धिक क्षमता र अन्तर्राष्ट्रिय सहकार्य विस्तारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ ।

नेपालको मार्केटिङ तथा प्राज्ञिक क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उपस्थिति जनाएको छ । जापानको साप्पोरोमा सम्पन्न एएमएफ अन्तर्राष्ट्रिय गोष्ठी २०२६ मा नेपाली प्राज्ञिक प्रतिनिधिका रूपमा डा. सुशील आवलेले प्रस्तुति दिएपछि नेपालको अनुसन्धान, पर्यटन प्रवद्र्धन तथा रणनीतिक मार्केटिङ क्षमताले एसियाली मञ्चमा चर्चा पाएको छ । यस सहभागितालाई नेपाली मार्केटिङ क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार र बौद्धिक उपस्थितिको संकेतका रूपमा हेरिएको छ ।

नेपाल मार्केटिङ एसोसिएसन (एनएमए) का निवर्तमान सचिव तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. सुशील आवलेले २८ मे २०२६ मा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्राज्ञिक सत्रअन्तर्गत “पर्यटन प्रवद्र्धनको प्रभावकारिता” विषयमा प्रस्तुति दिनुभएको थियो ।

“सहानुभूति, सिर्जनशीलता र प्रविधि ः एसियाबाट विश्वका लागि मार्केटिङको पुनः परिभाषा” भन्ने मूल नारासहित आयोजित गोष्ठीमा एसियाका विभिन्न देशका मार्केटिङ विज्ञ, प्राज्ञिक व्यक्तित्व तथा कर्पोरेट नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो । जापानको ऐतिहासिक रेड ब्रिक गभर्नमेन्ट बिल्डिङमा सम्पन्न कार्यक्रममा सहभागीहरूले विश्वव्यापी बजार परिवर्तन, उपभोक्ता व्यवहार, प्रविधिको विस्तार तथा नयाँ व्यावसायिक रणनीतिबारे छलफल गरेका थिए ।

अन्तराष्ट्रिय प्राज्ञिक सत्रअन्तरगत प्रस्तुत गरिएको डा. आवलेको अनुसन्धानले नेपालको पर्यटन क्षेत्रको सम्भावना, अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन रणनीति, स्थानीय अनुसन्धान तथा आर्थिक विकाससँग पर्यटनको सम्बन्धलाई केन्द्रमा राखेको बताइएको छ । प्रस्तुतिमा सैद्धान्तिक मार्केटिङ अवधारणा र व्यवहारिक आर्थिक अवसरबीच सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा विभिन्न देशका मार्केटिङ तथा व्यवसाय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। नेपाली प्रतिनिधित्वले नेपालको प्राज्ञिक क्षमता र अनुसन्धानलाई अन्तराष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर सिर्जना गरेको बताइएको छ ।

डा. आवलेले आफ्नो सहभागितालाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको सम्पूर्ण मार्केटिङ तथा व्यवसायिक समुदायको साझा उपलब्धिका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार नेपाली अनुभव, स्थानीय ज्ञान र अनुसन्धानलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावना बढ्दै गएको छ ।

विश्लेषकहरूका अनुसार यस्ता अन्तर्राष्ट्रिय सहभागिताले नेपालमा अनुसन्धान संस्कृति, पर्यटन प्रवद्र्धन तथा व्यवसायिक सहकार्यका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ । जापानमा सम्पन्न उक्त गोष्ठीलाई पछिल्ला वर्षहरूमा एएमएफको महत्त्वपूर्ण प्रत्यक्ष अन्तराष्ट्रिय जमघटका रूपमा हेरिएको छ ।

Previous Post Next Post