रमेशप्रसाद गौतम
हाम्रो पुस्ताका लागि धेरै सुनिने गुनासामध्येको एउटा हो आजकालका केटाकेटीमा धैर्य पनि छैन । आफूभन्दा माथिका मान्छेप्रति आदर भाव पनि गर्दैनन् । नैतिकता र अनुशासनबारे बेखबर छन् । विद्यालयको गुनासो पनि विद्यार्थीको व्यवहार रुखो, टर्रो र अटेरीपन रहेको छ । कतिपय केटाकेटी विद्यालय नगई कुलतका साथीसँग हिँड्ने गरेको कतिपय शिक्षक र अभिभावकबाट सुनिन्छ । नयाँ पुस्ताका केटाकेटीले खाने, लाउने, हिँडने कुरा सुुनिन्छ । यसरी हेर्दा हाम्रा नयाँ पुस्ताका केटाकेटीबाट घरपरिवार, समाज र विद्यालयसमेतले केही न केही कठिनाइ भोग्दै आएको अनुभूति हुन्छ ।
केटाकेटीले आफू प्रतिकूलको व्यवहार देखेपछि अभिभावकले विद्यालयले हाम्रा केटाकेटीलाई राम्रो शिक्षा नदिएकै कारण यिनको चालढाल व्यवहार प्रतिकूल देखिँदै आएको आरोप लगाउने गर्छन् । शिक्षक वा विद्यालयले अभिभावकले आफ्ना सन्तानलाई राम्रो परिवेश र अनुकूल वातावरण घरमा दिन नसक्दा छाडापन विकास भएको आरोप लगाउने गर्छन् ।
घरमा पुगेपछि प्रायः सबै केटाकेटी मोबाइलमा रमाउन थाल्छन् । बाबुआमाले बोलाउँदा पनि तुरुन्त आउँदैनन् । घरमा आमालाई भान्साको काम सघाउन पटक्कै मतलब राख्दैनन् । घर, करेसाबारीको कामतिर त वास्तै गर्दैनन् । कृषि खेतीप्रति त चासो हुने कुरै भएन । आफूू जन्मेको भूमिप्रति माया भएन । अलिकति पढेलेखेपछि गाउँबाट सहर जान रमाउने र सहरमा गएर केही समय बसेर पढिसकेपछि काठमाडांैँ राजधानी जाने, काठमाडौँ गएपछि विदेशतर्फ जाने, त्यहाँ अरू उच्च शिक्षा हासिल गर्ने मनोकाङ्क्षा बोक्ने जमात नै बढी देखिन्छ । पढ्न जान नसके कतार, अरब, मलेसिया, कोरियालगायतका मुलुकमा गएर श्रम खर्च गरी अर्थ उपार्जन गर्ने धेरै केटाकेटीको चाहना रहेको बुझिन्छ । यिनलाई हामीले गलत शिक्षा दिइरहेको भान पनि हुन्छ । यस दिशातर्फ हाम्रो शिक्षाले अझै ध्यान पु-याउन सकेको छैन ।
शिक्षकको पनि गुनासो त्यत्तिकै छ । प्रायः कतिपय केटाकेटी विद्यालयमा नियमित जाँदैनन् । तिनले शिक्षकले दिएको गृहकार्य पनि गरेको पाइँदैन । कक्षामा ध्यान दिएर पढाएको कुरा सुन्ने धैर्य राख्दैनन् । पढाइप्रति कत्ति पनि ध्यान दिँदैनन् । अब कसरी सुधार्ने भन्ने चिन्ता शिक्षकमा हुन्छ । अझ कति त लामा कपाल, कानमा मुन्द्रा, हातमा कल्ली लगाएर आउँछन् । अनि साथीबिच सामान्य छलफलमा विवाद गर्दागर्दै मारपिट पनि गर्न थाल्छन् । अब विद्यालय चलाउन पनि कठिन हुन थाल्यो भन्ने गुनासा पनि कतिपय साथीको मुखबाट सुनिन्छ ।
यहाँनिर शिक्षक अभिभावकतर्फ फर्कन्छन् र भन्न थाल्छन्, कस्ता होलान् यिनका बाबुआमा ? कसरी हुर्काएका यिनले ? घरमा अभिभावकले राम्रो कुरा बताउँदैनन्, घरमा अभिभावकले नै बेवास्ता गर्ने हुन् या आफ्ना केटाकेटीप्रति सकारात्मक व्यवहार पनि गर्दैनन् कि भन्ने जस्ता विषय उठाउँछन् । केटाकेटीको पनि आफ्नो घर र विद्यालयप्रति केही न केही गुनासा अवश्य छन् । यी सबै शिक्षा नीति र कार्यक्रम निर्माणमा सोच्ने विषय हुन् ।
केटाकेटीलाई घरपरिवार, छिमेक, साथीभाइ विद्यालयलगायतको ठुलो प्रभाव परेको हुन्छ । तिनलाई जस्तो ज्ञान दिइन्छ त्यस्तै बन्ने हो । घरपरिवारदेखि विद्यालयसम्मको वातावरण बालमैत्री हुनु जरुरी छ । घरपरिवार, समाज छरछिमेकदेखि वातावरणसमेत स्वच्छ र बालबालिकाप्रति मायालु हुने संस्कार सिकाउनु पर्छ । तिनले जस्तो संस्कार, संस्कृति, रीतिरिवाज परम्परा देख्छन् त्यसै अनुरूप आफूलाई ढाल्ने हो । हामीले आफ्नो समाजभन्दा फरक अब्बल, अनुशासित नैतिकवान् उपल्लो दर्जाको खोजेर पाउन सक्दैनौँ ।
आजको प्रविधिले नियमन गरेको समाज हिजोको अवस्थामा छैन । दिनप्रतिदिन जटिलतातर्फ उन्मुख हुँदै गएको छ । प्रतिसेकेन्ड ज्ञानको प्रबल रूपमा बढ्दै छ । आज विद्यार्थी हिजोका जस्ता पक्कै छैनन् । तिनले सिक्ने ज्ञानको भण्डार पनि अथाह छ । सिक्ने तौरतरिका हिजोको शैलीले हुँदैन । हिजो शिक्षकले जे भन्यो त्यही सत्य मानेर पढ्नुपर्ने समय थियो भने आज हरेक केटाकेटीले गुगल सर्च गरेर शिक्षकले भन्दा नयाँ कुरा पत्ता लगाउन सक्छन् । तिनले सिक्न सक्ने ज्ञानका स्रोत अथाह छन् । यसैले तिनले सिक्ने तौरतरिका हिजोभन्दा धेरै फरक हुँदै आएको छ ।
समयसापेक्ष असल र विषयवस्तुको अब्बल शिक्षकले सान्दर्भिक तरिकाले सिकाउने शिक्षा नै आजका पुस्ताका लागि उपयोगी हुन सक्छन् । नवप्रवर्तनशील शिक्षक परिवेशको आवश्यकता अनुसार शिक्षण शैलीमा रूपान्तरण ल्याउन सक्छन् । यस्ता शिक्षकले विद्यार्थीलाई केन्द्रमा राखी सिकाइलाई सजीव र सशक्त बनाउन सक्छन् । स्थानीय ज्ञान समुदायको आवश्यकता ख्याल गरी सांस्कृतिक यथार्थलाई शिक्षण प्रक्रियामा समाहित गर्दै पाठ्यक्रमलाई समेत जीवन्त तुल्याउन सक्छन् । नयाँ पुस्ताको केटाकेटीको जिज्ञासा पूर्ति गर्न बल पु-याउन सक्छ ।
शिक्षकले सिकाउने विषयवस्तु र किताबको ज्ञानभन्दा पनि बढी विश्वसनीय ज्ञान आजका विद्यार्थीले अन्य माध्यमबाट लिन सक्छन् । हाम्रा शिक्षक, समाज, परिवार र विद्यालयका तौरतरिका अझै पुरानै ढर्राका छन् । शिक्षा आफैँमा एक साध्य हो र साधन पनि । साध्य पढिन्छ र क्षेत्र, आयाम र यसको शक्तिको बोध गरिन्छ । शिक्षालाई साधनभन्दा वैयक्तिक तहमा आत्मनिर्माण, आत्मविकास र आत्मप्रकाशनको पहिचान स्थापित गर्ने मुख्य स्रोत ठानिन्छ ।
आधुनिकताले भिन्न चिनारी दिए पनि हाम्रो सामाजिक दायित्व फराकिलो हुँदै गएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्या बुझ्ने र बुझाउने शिक्षित जमातको खाँचो छ । आजको शिक्षालाई पनि भूमण्डलीकरणबाट अलग गराउन सकिँदैन । आजका नयाँ पुस्तालाई झनै प्रभाव पारेको छ । आजको युवापुस्ता भनेकै सूचना, सञ्जालमा खेल्ने साइबर पुस्ता हो । यो पुस्तालाई उत्तरआधुनिक पुस्ताका रूपमा पनि हेर्न सकिन्छ । अलि अक्षर सिक्नु कहाँ छ कहाँ ? पहिले बालक मोबाइलमा र टिभीमा रमाउँछन् । यसरी सूचना सञ्जालको ठुलो प्रभाव छ ।
नेपाली नयाँ पुस्ता आतङ्क, युद्ध, रोग, भोग र द्वन्द्वमा तड्पिरहेको छ । यिनको विद्रोह पनि यसैका लागि थियो । यो विद्रोह यथास्थितिका विरुद्ध थियो । यिनले खोजेको राज्य रूपान्तरण नै हो । यसका लागि बेरोजगारी, असमानता र गरिबीबाट उन्मुक्ति नै हो । स्तरीय शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा सबैको पहुँचका कुरा पनि आउँछन् । पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन् । केटाकेटीका अग्रज साथी, शिक्षक तिनका सूचनाका स्रोत हुन् । गुगललगायत आधुनिक विभिन्न साधनमार्फत धेरै सूचना बटुल्न सक्छन् । शिक्षकभन्दा विद्यार्थी बढी, जानकार बन्न सक्छ । पढेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन । विद्याथी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनु पर्छ । केवल अध्ययन वा पुस्तक पढाएर वा घोकाएर केटाकेटीलाई नैतिकवान् वा चरित्रवान् भन्दैनन् । यसका लागि घरपरिवार, समुदाय, समाज, विद्यालय र सरकारी नीति पनि अनुकूल हुन जरुरी छ ।
हाम्रो जस्तो यथास्थितिवादको बाहुल्य भएको समाजमा नयाँ पुस्ताको कुरा सुन्ने कमै हुन्छ । अग्रजको नियन्त्रणमा चलेको समाजमा युवापुस्ताले कमै अवसर पाएका हुन्छन् । यहाँ पुख्र्यौली कुराको बढी सुन्ने प्रचलन हुन्छ । यो समाज नयाँ परिवर्तनप्रति नकारात्मक हुन सक्छ । नयाँ पुस्ता परिवर्तनवादी हुन्छन् । यिनले यथास्थितिको विद्रोहमा उत्रन्छन् । युवापुस्ता असफल र रुग्ण हुनुभएन । यिनलाई जोगाउन नयाँ दिशा दिने शिक्षा आवश्यक छ । गोरखापत्रबाट