कसरी रोक्न सकिन्छ सडक दुर्घटना ?

इ. ज्ञान बहादुर कार्की
नेपालमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो  छ । यात्रा सुरु गरेपछि गन्तव्य स्थानसम्म सुरक्षितसाथ पुगिन्छ भनेर ढुक्क भएर यात्रा गर्ने अवस्था छैन । तथ्याङ्क हेर्दा सडक दुर्घटनाको कारण प्रत्येक वर्ष सरदर २५०० भन्दा बढीले ज्यान गुमाइरहेका छन् भने ५८०० भन्दा बढी गम्भीर घाइते हुने गरेका छन् । यस्ता दुर्घटनाबाट पीडित व्यक्ति तथा परिवारले भोग्नुपरिरहेको दुःख, पीडा, मानसिक तनाब, साथै दुर्घटना पश्चात यसको व्यवस्थापनमा लाग्ने राज्यको स्रोत साधन, समय र आर्थिक क्षतिकोे मुल्याङ्कन गरिसाध्य छैन । बारम्बार समाचारमा आइरहने ठूला सडक दुर्घटनाको कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नै नेपालको मान प्रतिष्ठामा आघात पुगिरहेको छ र पर्यटन प्रवद्र्घनमा समेत यसले असर पारिरहेको छ । यसमा सरकारको गम्भिर ध्यानाकर्षण हुनु जरुरी छ ।
दुर्घटना आफै हुने कुरा होइन । यो कुनै कारणले हुने हो । दुर्घटनाको कारण पत्ता लगाएर रोकथामको उपायलाई प्रभावकारी रूपले अबलम्बन गर्न सकिएमा दुर्घटना रोक्न सकिन्छ वा पुरै रोक्न नसके पनि न्यूनीकरण भने अवश्य गर्न सम्भव छ । कामहरु हुँदै नभएमा होइनन् तर गरिएका यी कामहरु पर्याप्त छैनन् र सन्तोषजनक छैनन् भन्ने कुरा बारंबार आइरहने दुर्घटनाका समाचारबाटै पुष्टि हुन्छ । यो क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । त्यसमध्य केही कुराहरु म कोट्याउन चाहन्छु ।
 हाल नेपालमा समग्र सडक सुरक्षा हेर्ने कुनै जिम्मेवार निकाय छैन । जिम्मेवार निकाय भनिएको विद्यमान राष्ट्रिय सडक सुरक्षा परिषद्ले अपर्याप्त ऐन कानून लगायतका विविध कारणहरु देखाई प्रभावकारी तरिकाले काम गर्न सकिरहेको अवस्था छैन । सरकारले एउटा अधिकार सम्पन्न सडक सुरक्षा परिषद निर्माण गरी केन्द्रदेखि स्थानीय तहसम्म हेर्ने भरपर्दो र शक्तिशाली संयन्त्र निर्माण गर्नुपर्दछ ।
 संघ वा प्रदेशको संसदमा वा कुनै पनि स्थानीय तहमा सडक सुरक्षाको एजेण्डामा कुनै छलफल हुने गरेको देखिँदैन । यसले गर्दा राज्यले दुर्घटनालाई सामान्य लिएको र यसको रोकथामको लागि खासै महत्व नदिएको महसुस सबै नागरिकमा भइरहेको छ । सडक दुर्घटना रोकथामको विषयलाइ जनप्रतिनिधिहरुले सर्वोच्च चासोको विषय बनाइ, यसलाइ संघीय संरचनाको हरेक तहमा छलफलको अनिवार्य  एजेण्डा बनाउनुपर्छ ।
 कतिपय यातायात कार्यालयहरुमा कर्मचारी र विचौलियासँगको मिलेमतोमा असक्षम व्यक्तिले पनि  सवारी चालक अनुमति पत्र लिइरहेको कुरा  विभिन्न सञ्चार माध्यमबाट आइरहेको हुन्छ । गत केही वर्षहरुमा झन्डै एक लाखको संख्यामा नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको र केही व्यक्तिहरु अनुसन्धानको दाहेरामा आएको कुरा पनि सञ्चार माध्यमा आएको थियो । जिम्मेवार निकायहरूबाट हुने गरेका यस्ता गैर जिम्मेवारी क्रियाकलापहरू रोक्पर्छ । नक्कली सवारी चालक अनुमति पत्र पनि सडक दुर्घटनाको एउटा कारण हो ।
 कतिपय ठूला दुर्घटना पश्चात कार्यदल बनाएर अनुसन्धान गरिन्छ । दुर्घटना र रोकथाम बारेमा धेरै लेखहरू पनि  लेखिएको छ । केही व्यक्तिहरूले सडक दुर्घटनाको विषयमा विद्यावारिधि पनि गरेका छन । यस्ता अध्ययन अनुसन्धानबाट प्राप्त अमूल््य सुझावहरुलाई सरकारले उपलब्धिको रूपमा लिएर  कार्यान्वयन गर्नुपर्ने हो तर त्यो भएको छैन । साथै सरकारी निकायबाट दुर्घटना रोक्न तथा न्यूनीकरण गर्न बनेका विभिन्न सडक सुरक्षाका कार्ययोजनाहरु राम्ररी कार्यान्वयन भएका हुँदैनन् । यस्ता विषयहरुमा गम्भिरतापूर्वक ध्यान दिनु जरुरी छ ।
 वर्षौं पुराना र थोत्रिएका  सवारी साधनहरू पनि चलिरहेका छन्। । पुराना गाडिहरुको यान्त्रिक अवस्था अत्यन्तै खराब भएको हुन सक्छ । नेपालभर चलिरहेका पुराना जीर्ण सवारी साधनलाई निश्चित अवधि पछि  पूर्ण रूपले हटाउने व्यवस्था हुनुपर्दछ ।
६ अवस्था ठीक नभएका गाडिहरु जस्तै  ब्रेक राम्रो नलाग्ने, साइड लाइटहरु नबल्ने, हर्न नलाग्ने तथा टायर खिइएर नाजुक अवस्था  भइसकेका गाडिहरु पनि चलिरहेका हुन्छन । जहाँ पुगेर बिग्रिन्छ त्यही मर्मत गर्ने चलन छ । यसले गर्दा कुनै पनि बेला गाडीको यांत्रिक  गडबडी भएर  दुर्घटना भइरहेको अवस्था छ । गाडीलाई सवारीमा लैजानुपूर्व अनिवार्य चेक जाँच गर्ने पद्धति बनाउनु पर्छ । त्यस्तै कुनै निश्चित समयको अन्तरालमा आधिकारिक  निकायबाट पनि उक्त कार्य भए नभएको अनुगमन गर्ने पद्धति बनाएर नियन्त्रण गर्नुपर्छ । 
७ प्रायः पहाडी बस्तीहरूमा बनेका सडकको सुरक्षा मापदन्ड पुगेको हुँदैन । जस्तैः कतिपय ठाउँमा घुम्ती पुग्दैन, कतै धेरै भिराला छन भने कतिपय धेरै साँघुरा छन् । सडकहरुमा पहिरो तथा ढुङ्गा खसेर दुर्घटना हुने अवस्था हुन्छ । सडक बन्न नपाउँदै गाडि कुद्न थालिसक्छन, कसैले वास्त ागर्दैन । यस्ता सडकहरूमा सवारी साधन चलाउनु पूर्व सम्बन्धित निकायले स्थानीय सरकारको समेत उपस्थितिमा सडकको अवस्था चेक जाँच गरी , गाडी चलाउन उपयुक्त भएको प्रमाणित गरेर मात्र गाडी चलाउन अनुमति दिने पद्धति बनाउनुपर्छ ।
 प्राय कच्ची सडकहरूमा पानी कटाउने नाला  (साइड ड्रेन) नै हुँदैन भने कति ठाउँमा नाला भएर पनि त्यसको मर्मत सम्भार हुन नसकेर सञ्चालनमा हुँदैन र पानी सडकबाट बगिरहेको हुन्छ अनि सडक हिलो भएर गाडी चिप्लिएर दुर्घटना हुने गर्छ । साथै चिप्लो माटो÷ रातो माटो आदि भएका भिराला सडकहरुमा वर्षातमा आकाशको पानीले पनि सडक चिप्लो भएर दुर्घटना भइरहेको हुन्छ । कम खर्चमा सामान्य मर्मत संमारबाट हुने कामहरु नभएर ठूला दुर्घटनाह्रु भइरहेका छन । यस्ता दुर्घटनाह्रु सडकको नियमित अनुगमन र मर्मत  सम्भार गरी कम गर्न सकिन्छ । त्यसको लागि स्थानीय तह समेत समेट्ने गरी स्थायी संयन्त्रको निर्माण गरिनुपर्दछ ।
९ ८० प्रतिशतभन्दा बढी सवारी दुर्घटना मापसे, तिब्र गति तथा  मोबाइलको प्रयोग आदि चालकको लापर्वाहीको कारण  हुने गरेको अध्ययनबाट पुष्टि भएकोले ट्राफिक नियममा कडाइ गरी यसको नियन्त्रण गर्नुपर्दछ। सहरी क्षेत्र तथा उपत्यका भन्दा बाहिर यो विषयमा  धेरै नै फितलो अवस्था भएको र ठूला दुर्घटना पनि सहर तथा उपत्यका बाहिर नै हुने गरेकोले आबस्यक ठाउँहरूमा थप जनशक्ति व्यवस्थापन गरी यस कामलाई उच्च प्राथमिकता दिएर कडाई गरिनुपर्दछ ।
१० उपत्यका बाहिर बलेरो गाडी, पिक अप, ट्रक, ट्याक्टर आदिमा पछाडि मान्छे चढाउने अझ सामान माथि मान्छे राखेर चलाउने गरेको कारणले कतिपय दुर्घटना भइरहेको हुन्छ । कतिपय ठाउँमा सार्वजनिक बस आदि सवारी साधनमा तोकिएको सीट भन्दा बढी मान्छे खाँदेर हालेका हुन्छन् । यी कारणहरुबाट गाडी ओभर लोड भएर दुर्घटनाको जोखिम बढेको हुन्छ । यस्तो कार्य कडाईका साथ नियन्त्रण गरिनुपर्दछ ।
११ चालकको स्वास्थ्य सम्बन्धी जटिल समस्याहरू रहेका हुन सक्छन् । सवारी चालककले  मानसिक तथा शारीरिक अवस्था ठीक नभएमा कुनै पनि बेला सवारी दुर्घटना पर्न सक्छ । यस्तो अवस्था आउन नदिन  सवारी चालककले नियमित स्वास्थ्य जाँच, आँखा जाँच आदि अनिवार्य  गर्ने र सवारी चलाउन योग्य भएमा मात्र काममा लाउने गरी नियम बनाई लागू गर्नुपर्छ ।
१२ एउटै चालकले लामो समयसम्म लगातार गाडी चलाउँदा चालक थाकेर, निदाएर पनि दुर्घटना भइरहेको अवस्था छ ।  नेपाल श्रम ऐन अनुसार गाडी  चलाउने अवधि, आराम गर्ने समय आदि व्यवस्थामा कडाइ गर्ने र चालकको ड्युटी अदल बदल गर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ ।
१४ चालकहरुलाई निश्चित समयको अन्तरालमा ट्राफिक ऐन नियम कानुन सम्बन्धी पुर्नताजगी तालिम तथा सुरक्षित ड्राइभिङ सबन्धि नियमित प्रशिक्षण गर्ने तथा ट्राफिक नियम उल्लंघन गरेमा अथवा आफ्नो गल्ति भएर कसैको ज्यान गएमा वा अंगभंग भएमा के कस्तो सजाय भोग्नुपर्छ ? के कस्तो क्षतिपूर्ति व्यहोर्नुपर्छ भन्ने विषयमा सुसुचित गर्नुपर्छ । यस्ता सचेतना सम्बन्धी कार्यक्रम तथा सवारी सम्बन्धी नियम कानुनहरुलाई  स्थानीय रेडियोहरु तथा हरेक सञ्चार माध्यम प्रयोग गरी व्यापक प्रसारण गर्नुपर्छ । यसले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्दछ ।
१५ कतिपय सडकहरूमा सुरक्षा संकेतहरू पर्याप्त छैनन् । कतिपय भएको ठाउँमा पनि राम्रोसँग मर्मत नभएको अवस्था छ । त्यस्तै सुरक्षा बारे पनि कतिपय आवश्यक ठाउँहरूमा समेत नभएको र भएका पनि कतिपय  उल्लेखित प्रयोजनको लागि भरपर्दा छैनन् । पर्याप्त सडक सुरक्षा संकेतहरू भएमा तथा सेफ्टी व्यारिएर निर्माण गरिएमा सडक दुर्घटना कम हुन सक्छ ।
१६ उपत्यकाभित्र तथा अन्य मुख्य शहरहरूको कतिपय महत्वपूर्ण ठाउँहरूमा समेत जेब्रा क्रसिङ छैन र भएका ठाउँहरूमा पनि कतिपय ठाउँमा राम्रो मर्मत सम्भार नभएको र दुरुस्त नभएको कारण स्पष्ट देखिँदैन जसको कारण पैदल यात्रुकरुले जतासुकैबाट बाटो काटिरहेको हुन्छन् र दुर्घटनाको जोखिम बढिरहेको हुन्छ ।
यसरी हेर्दा सडक दुर्घटना रोकथाम गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुराहरु धेरै छन् । आवश्यक ऐन कानुनको तर्जुमा गरी उल्लेखित विषयहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा दुघर्टना रोक्न सकिन्छ । पुरै रोक्न नसके पनि न्यूनीकरण गर्न अवस्य सम्भव छ ।
लेखक खिम्ती १ जल विद्युत आयोजनामा सुरक्षा, स्वास्थ्य तथा वातावरण प्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ ।
Previous Post Next Post