मुक्तक संग्रह ‘भावनाका लहर’ विमोचन

 


दाङ ।
साहित्यकार शरद गौतमको मुक्तक संग्रह ‘भावनाका लहर’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आइतबार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाललगायतका अतिथिहरुले मुक्त संग्रहको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

कार्यक्रममा मुक्त संग्रहको समीक्षा गर्दै साहित्यकार डा. हिमलाल पन्थीले भावना, लय एवं वर्णविन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निम्ति मुक्तकको माध्यमबाट सन्देश प्रवाह गरिएको बताए ।

जन्मभूमिप्रतिको प्रेम, सरल भाषाशैली र प्रभावकारी प्रस्तुति संग्रहका विशेषता रहेको बताउँदै उनले संग्रहभित्र सामाजिक विषयवस्तुसँगै हास्य, व्यंग्य, आक्रोशलगायतका विषयमा लेखिएका मुक्तकहरु रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले लेखक गौतमको प्रथम कृति भए तापनि भाषाशैली र प्रस्तुतिका दृष्टिले संग्रह पठनीय एवं सह्राहनीय भएको बताएका थिए ।

कार्यक्रमका अन्य वक्ताहरूले संग्रहमा देशप्रेम, प्रकृति र जीवनदर्शनका साथै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान विकृति र विसंगतिको चित्रण गर्दै सुधारको सन्देश दिएको बताएका थिए ।

नेपाल संस्कृत विश्वविद्यालयमा आवद्ध भएर ३८ वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका लेखक गौतमले सेवा निवृत्त भएपछिको समयलाई सदुपयोग गर्दै मुक्तकको संग्रह प्रकाशन गरेको बताएका थिए । संग्रहमा दुई सय ८० वटा मुक्तक समावेश गरिएका छन् ।


राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारीलगायते शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सचिव घनश्याम केसीले गरेका थिए ।

Previous Post Next Post