बालबालिकालाई केन्द्रित गरेर लेखिएको कविता संग्रह ‘प्रेरणाका गुच्छा’ विमोचन

काठमाडौँ । तीन दशक शिक्षण पेशा र सक्रिय राजनीतिपछि पूर्वसांसद बिजुला रायमाझी अब साहित्यिक सिर्जनाका साथ पाठकमाझ आउनुभएको छ । उहाँको १८२ वटा कविताहरू समेटिएको नयाँ कृति ‘प्रेरणाका गुच्छा’ राजधानीमा एक समारोहका बीच विमोचन गरिएको छ ।

लोकतन्त्रका सेनानी स्वर्गीय बुद्धि रायमाझीको छैटौँ स्मृति दिवस पारेर आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञहरूले रायमाझीको साहित्यिक यात्राको प्रशंसा गर्नुभएको छ ।

नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. जीवेन्द्रदेव गिरी र बाल साहित्यकार सुशिला प्रधानाङ्ग लगायतले संयुक्त रूपमा कविता संग्र्रहको विमोचन गर्नुभएको थियो ।

विमोचित संग्र्रहमा कुल १८२ वटा कविताहरू समेटिएका छन् । २८ वर्ष शिक्षण पेशामा बिताउनुभएकी रायमाझीले राजनीति र समाजसेवाका साथै साहित्यलाई पनि अगाडि बढाउनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले संग्रहमा समेटिएका  कविताले समाजलाई सकारात्मक सन्देश दिने बताउनुभयो । बिजुला रायमाझी नामजस्तै पौरखी भएको भन्दै  शिक्षण र नीति निर्माणको गहन भूमिकाबाट कविता लेखनको क्षेत्रमा आइपुग्न धेरै संघर्ष गर्नुभएको स्मरण गर्नुभयो ।

लेखक रायमाझीले संग्र्रहका अधिकांश कविताहरू बालबालिकालाई केन्द्रित गरेर लेखिएको बताउनुभयो । “आर्थिक र समयको अभावका कारण कविता प्रकाशनमा केही ढिलाइ भए पनि अब यी सिर्जनाहरू बालबालिकामाझ पु¥याएर अन्तरक्रिया गर्ने मेरो लक्ष्य छ ।’’ –उहाँले भन्नुभयो ।

बाल साहित्यकार सुशिला प्रधानाङ्गले रायमाझीका कवितामा बालबालिकाको संरक्षण र प्रेरणाका भावहरू सशक्त रूपमा प्रस्तुत भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा साहित्यकार ओम आचार्य, पाणिनी बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा साहित्यकार बुद्घि भुषाल, स्रष्टा लक्ष्मण रायमाझी, व्यवसायी भोज बहादुर शाहलगायतका वक्ताहरूले स्वर्गीय बुद्धि रायमाझीको योगदान र बिजुला रायमाझीको साहित्यिक यात्राबारे चर्चा गर्नुभएको थियो । डा. विजय रायमाझीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा, कानुन र साहित्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Previous Post Next Post