सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसँगै एआईएले मनायो १८औँ अभिभावक दिवस (फोटो फिचरसहित)

काठमाडौं । दुई दशकदेखि गुणस्तरीय शिक्षामा सक्रिय अवेरनेस इन्टरनेसनल एकेडेमीले आफ्नो १८औँ अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ । एआईएले बालबालिकाको प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्य अनुरुप १८ औं अभिभावक दिवस मनाएको हो ।

बालबालिकाको मनोबल उच्च राख्ने उद्देश्यले शनिबार विद्यालयको नयाँ परिसर शंखमूल चोकमा आयोजना गरिएको सो बाल उत्सव कार्यक्रममा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका ‘सिनियर’ छात्रछात्राहरूले सागींतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरू, अभिभावकहरू अतिथिगण, शिक्षक–शिक्षिका तथा कर्मचारीहरू गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख आतिथिका रूपमा काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख केशव ज्ञवालीले आजका बालबालिका भविष्यका कर्णाधार भएको बताउँदै एआईएको निरन्तर सफलता र क्रियाशीलताकोे प्रशंसा गर्नुभयो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउँदै आएको र हरेक विद्यार्थीमा फरक फरक क्षमता र प्रतिभा रहेको कुरालाई मध्यनजर गर्दै विद्यालयले ती सबै पक्षलाई समेटेर अगाडि बढेको उहाँले बताउनुभयो ।

विद्यालयका संस्थापक तथा प्राचार्य विष्णुप्रसाद अर्यालले एआईएले वर्षभरि सम्पन्न गरेका शैक्षिक तथा विविध क्रियाकलापहरू एवम् विद्यालयले प्राप्त गरेका प्रमुख उपलब्धिहरूका बारेमा संक्षिप्तमा जानकारी गराउँदै विद्यालयको १८औँ वार्षिक उत्सव मनाइरहँदा अलिकति फरक परिवेशमा रहेको कुरा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विशेष परिस्थितिको कारणले विद्यालय सुदृढ पूर्वाधारसहित नयाँ ठाउँमा सिफ्ट भएको र गुणस्तरीय शिक्षा प्रवर्धनमा प्याराडाइम सिफ्टको बाचाका साथ अझ प्रतिबद्ध रहेको छ ।”

यसैगरी, विद्यालयका संस्थापक तथा प्रमुख शिक्षा निर्देशक डा. चेतनाथ कणेलले स्वागत मन्तव्यमा विद्यालय सञ्चालन भएको करिब दुई दशकमा अझै व्यापक, गुणस्तरीय र फराकिलो बन्दै गएको र आउँदा दिनमा एआईएलाई अझ अब्बल विद्यालय बनाउने प्रयास भइरहेको बताउनुभयो । अभिभावकहरूका तर्फबाट मन्तव्य राख्दै कल्पना रेग्मीले एआईएले शिक्षा क्षेत्रमा राम्रो काम गरिरहेको र गुणस्तरीय शिक्षा प्रदानका लागि यहाँको पूर्ण सक्षम र समर्पित टिम देखेर नै आफू प्रभावित भएको बताउनुभयो । साथै, विद्यालयले आगामी दिनमा थप मेहनत गरी काठमाडौंमा एक अब्बल र नमूना विद्यालयको रुपमा स्थापित हुने कुरामा विश्वस्त भएको बताउनुभयो ।

विद्यालयका संस्थापक तथा शिक्षा निर्देशक कृष्णप्रसाद गैरेले सञ्चालन गरेको वार्षिकोत्सव कार्यक्रममा करिब दुई दर्जन सांगीतिक प्रस्तुतिका अतिरिक्त समसामयिक सामाजिक सवालमा केन्द्रित एकांकी नाटकहरूका साथै विशेष प्रतिभाहरूसमेत प्रदर्शन भएका थिए ।

कार्यक्रमको अवधिभर विविध प्रकारका परम्परागत तथा आधुनिक बाजाहरू बजाउने कार्यमा पनि विद्यालयकै छात्रछात्राहरूको नेतृत्वदायी भूमिका थियो । कार्यक्रमकै अवसर पारेर शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै उक्त अवसरमा विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीले गर्नुभएको थियो भने कार्यक्रम संयोजन तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यमा विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरी, संस्थापक तथा कार्यकारी निर्देशक शैलेन्द्रकुमार झा सक्रियरूपमा सरिक हुनुहुन्थ्यो । कार्यक्रम सफल पार्न अत्यन्त मेहनत साथ खटिने सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारीवर्ग तथा स्वयमसेवकको रूपमा खटिने एआईए स्काउट टिम र अत्यन्त उत्साहका साथ कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकहरूलाई अध्यक्ष ज्ञवालीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

एआईएले विद्यालय स्थापनाकालदेखि नै हरेक वर्ष जुनियर तथा सिनियर गरी दुईपटक ‘वार्षिक रूपमा बालउत्सव’ तथा अभिभावक दिवस आयोजना गर्दै आएको छ ।








Previous Post Next Post