कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड

काठमाडौँ । अहिल्लो वर्ष भन्दा केही सुधारिएर यो वर्ष कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले नतिजा बृद्धि भएको हो ।

नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी पाँच लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये दुई लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन् ।

सार्वजनिक १२ कक्षाको नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् एक लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१  देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनिक हुनुपर्ने भएपनि गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

ग्रेड बृद्धि परीक्षा भदौ अन्तिम साता

बोर्डले कक्षा १२ को ग्रेड बृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड बृद्धि परीक्षा हुने बताउनुभयो ।


Previous Post Next Post