बेलायत । बेलायतमा रहेका नेपाली बालबालिकाहरुका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२५”कोे लािग आवेदन खुल्ला गरिएको छ । प्रतिभा नक्षत्र कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरुले सहभागिता जनाउन सक्ने व्यवस्था छ ।
प्रतिभा नक्षत्रका परिकल्पनाकार तथा कार्यक्रम संयोजक राजेन्द्र खसकाअनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि मात्र नभएर विश्वभर रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाहरुलाई नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा बालबालिकाहरुको प्रतिभा प्रर्दशन गर्ने उद्देश्यले आयोजना गरिँदै आइएको होे । जहाँ बालबालिकाहरुले नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताप्रति आफ्नोपनको अनुभव गर्न सकुन । आपसी सदभाव, समन्वय साथै नेपाली भाषा र संस्कृतिको जर्गेनासँगै विश्वमाझ नेपाली मौलिकताको पहिचान प्रर्वद्धन पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
नेपाली कला, संस्कृति र विविधताको मौलिक पहिचान र प्रतिभा प्रस्तुति रहने कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट १७ अर्थात भदौ १ गते सेन्ट जर्ज ग्यारिसन चर्च, ५ मिलियन लेन, लन्डन एसइ१८ ६बीडब्लुमा आयोजना हुनेछ । उक्त कार्यक्रममा सहभागि हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको छ ।
नेपाली गीत, संगीत, नृत्य, कला, साहित्य, चित्रकलगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन् । कार्यक्रम बालबालिकाको लागि मात्र नभएर अभिभावक र युवाहरुलाई पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुतिहरु पनि राखिनेछन् । त्यसैगरी, विभिन्न नेपाली संस्कृति झल्काउने खालका खानाहरु, नेपाली खेलहरु, नेपाली घरहरु, थारु संस्कृति झल्काउने घर, मादल, डोको, डालो, ढिकी, जाँतो, नेवारी परिकार, खस, गुरुङ, मगर समुदायको मौलिकता झल्काउने स्टलहरु, लाखे नाच, कुमारी नाच, पञ्चेबाजालगातयतका नेपाली मौलिकता झल्काउने सास्ंकृतिक प्रस्तुतीहरुसँगै कला, साहित्य पनि कार्यक्रमका प्रमुख आकर्षण रहनेछन् ।
नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युथ नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हु्नेलाई क्रमशः सात सय पाउण्ड, छ सय पाउण्ड र पाँच सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो,दोस्रो र तेस्रो हुनेले पनि क्रमशः पाँच सय, चार सय र तीन सय पाउण्ड पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
पुरस्कृतहरुलाई ट्रफी, सर्टिफिकेट र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।
बालसमूह अन्तरगत छ वर्षदेखि ११ वर्षसम्मका बालबालिका र युथअन्तरगत ११ देखि १९ वर्षका यूवाले जुनसुकै देशबाट पनि भाग लिन सक्नेछन् । छ वर्षदेखि नियमित हँुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा यस वर्ष भने अष्ट्रिया, पोर्चुगल, बेल्जियम, जापान, अमेरिकालगायतबाट अनलाइनमार्फत बालबालिकाहरुले सहभागिता जनाइरहेका छन् । कार्यक्रममा सहभागी हुन चाहने नेपाली समुदायका बालबालिकाले प्रतिभा नक्षत्रको वेभ साइट तथा फेसबुक पेजमा गएर आवेदन दिन सकिने आयोजक पक्षले जनाएको छ ।
यस वर्षको प्रतिभा नक्षत्र कार्यक्रममा आइएनएएस यूके, बुद्ध फाउन्डेसन यूके, जामघाट परिवार, एनआरएनए यूकेलगायतका संस्थाहरुको पनि सहभागिता रहनेछ ।
मेड इन नेपाल एक्स्पो
प्रतिभा नक्षत्रकै दौरानमा यसपालीदेखि “स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ नेपाली मौलिक उत्पादनको प्रदर्शनी ‘मेड इन नेपाल एक्स्पो २०२५’ आयोजना हुने भएको छ ।
लण्डनमा बसोबास गर्ने नेपाली तथा अन्यका लागि लक्षित गर्दै नेपाली उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गर्न लागिएको आयोजक पक्षले जानकारी गराएको छ ।
प्रदर्शनीमा नेपाली स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, हिमाली तथा विभिन्न क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्रीलगायतका सामान प्रदर्शन तथा बिक्रीका लागि राखिने एक्स्पोमा आयोजक जमघट परिवार यूके, बुद्घ फाउण्डेशन युके, अन्तराष्टिय कलाकार समाज युके, एनआरएनए युके आयोजकका रुपमा रहेका छन् ।