‘बा’ को मोटरगाडी
डिपलभ अधिकारी
सेतै फुलेका मेरा ‘बा’ हिमालजस्तै
तर, पहाडजस्तै देख्छु म मेरा ‘बा’लाई ।
‘बा’ चलाउनुहुन्छ गाडी परिवारको
तर, शंका लाग्छ मलाई मेरै ‘बा’माथि ।
म भन्छु – बा लेनमै चलाउनु है गाडी
‘बा’ भन्नुहुन्छ – बुढो गोरु त भिर ताक्छ बा !
‘बा’ ले पञ्चायत चलाए
बहुदल चलाए, प्रजातन्त्र चलाए
अहिले मेरो ‘बा’ गणतन्त्र चलाउँदैछन् ।
उहिले कचहरी चलाउने मेरो ‘बा’
अहिले मेरै आमाको तिलहरीमा झुण्डिन्छन् ।
तर,
‘बा’ ले गाडी चलाउन छाडेका छैनन्
‘बा’को क्याबिन सिटमा बसेर
म भन्छु – ‘बा’ लेन मै चलाउनु है गाडी ,
‘बा’ भन्नुहुन्छ – ‘ओरालोमा ‘लेन” के चाहियो
र बा?’
खै कताबाट आँगनीको डिलमा
आज थचक्क बसे मेरा ‘बा’
कुन्नि कस्तो माया !
मलाई सुम्सुम्याउँदै – ‘बा’ ले भने – हाम्रो मोटरगाडी त
बिग्रिएछ बाबैं !
‘बा’
गाडी बिग्रिएको होइन । बाटो बिग्रिएको होइन ! त्यसैले –
‘बा’ –लेनमै चलाउनु है गाडी”
अझै ‘बा’ भन्नुहुन्छ ‘ इन्जिनै खराब छ, मेरो के लाग्छ बा !’
(शंखमूलस्थित अवेरनेस इन्टरनेशनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्र डिपलभ अधिकारीद्वारा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीका अवसरमा रचना र वाचन गरिएको कविता । आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगितामा यो कविताले उत्कृष्ट स्थान हासिल गरेको थियो ।)