नेपाली मूलका जीव बेल्बासे रश्मोर बरो काउन्सिलको उपमेयरमा नियुक्त

लण्डन । रश्मोर बरो काउन्सिलको उपमेयरमा नेपाली मूलका जीव नारायण बेल्बासे नियुक्त हुनुभएको छ ।

काउन्सिल, फार्नबरोको वार्षिक बैठकबाट सन् २०२६÷२७ कार्यकालका लागि बेल्बासे उपमेयरमा नियुक्त हुनुभएको हो ।

वार्षिक बैठकको एजेण्डाअनुसार नवनियुक्त मेयरले काउन्सिलर जीव नारायण बेल्बासेलाई उपमेयरका लागि प्रस्ताव गर्नुभको थियो । उक्त प्रस्तावलाई कन्जरभेटिभ पार्टीका काउन्सिलरहरूले समर्थन जनाउँदै बेल्बासेको कार्यशैली, योगदान तथा सामुदायिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए । सर्वसम्मत समर्थनपछि उहाँ उपमेयरमा चयन हुनुभएको हो ।

उपमेयर घोषणा कार्यक्रममा नेपाली समुदायका तर्फबाट काउन्सिलर उत्तर गुरुङ, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, महासचिव सुनिल राना तथा अमिता बेलबासेलगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँचीको भूमिकास्थान खिल्जीमा जन्मिएका बेल्बासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । उहाँी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वप्रवक्ता पनि हुनुहुन्छ ।

बेल्बासे यसै वर्ष मे महिनाको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा मनोर पार्क वार्डबाट काउन्सिलर पदमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपालब्रिटेन डटकमद्वारा प्रकाशित “चर्चित १० व्यक्ति” सूचीमा समावेश भई “मिडिया पर्सनालिटी अफ द इयर” अवार्डबाट सम्मानित हुनुभएको थियो । साथै, समाजप्रति पु¥याएको योगदानको कदरस्वरूप यस वर्ष बीबीसी ससेक्स एण्ड सर्रेले उहाँलाई “बीबीसी कम्युनिटी हिरो अवार्ड” प्रदान गरेको थियो ।

नवनियुक्त उपमेयर बेल्बासेले आफूलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गरेकोमा कृतज्ञता व्यक्त गर्दै समुदायको विकास, सेवा र सहकार्यलाई अझ सुदृढ बनाउँदै निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले समर्थन गर्ने सबैप्रति आफ्नो तथा परिवारको तर्फबाट हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभयो ।

Previous Post Next Post