सिकाइ उपलब्धिमा शिक्षक

इन्द्रविलास घिमिरे

विद्यालय शिक्षामा कमजोर गुणस्तर चिन्ताको विषय बनेको छ । गुणस्तर वृद्धि गर्न सरोकारवाला पक्षको भूमिका गहन हुनु पर्छ । प्रमुख जिम्मेवार शिक्षक नै हुन् । आफ्ना बालबच्चा विद्यालय भर्ना गर्दा अभिभावकले ठुलो उद्देश्य राखेका हुन्छन् । बालबच्चाको सुसंस्कृति, सभ्यता र गुणस्तर सिकाइमा प्रगति नहुँदा चिन्ता हुनु स्वाभाविक हो । बच्चा जन्माउनु, हुर्काउनु र गुणस्तरीय शिक्षा दिनु खर्चिलो र कष्टकर बनेको छ ।

शिशु तीन/चार वर्षको हुँदा विद्यालय पठाउने फेसन नै बनेको छ । कुनै पनि बालक बालकक्षामा एक वर्ष अध्ययन गरेको अवस्थामा उक्त बालक एक कक्षामा जान सक्षम हुनु पर्छ भन्ने छ । बालकक्षामा एक वर्ष अध्ययन गरेका र पाँच वर्ष उमेर पूरा भएका बालक केवल ४९.१५ मात्र कक्षा एकमा जान सक्षम भएको शिक्षा विभागको अनुसन्धान प्रतिवेदनबाट स्पष्ट हुन्छ ।

बालकक्षामा भर्ना हुन आउने बालबालिका आमाको काख र घरपरिवारको मायामोह छाडेर विद्यालय आएका हुन्छन् । त्यस्ता बालबालिकालाई कसरी कक्षाकोठामा आकर्षण गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । बालबालिकाले मन पराउने रमाइलो वातावरण, कक्षाका शिक्षक वा बालकक्षामा रेखदेख गर्ने जनशक्तिमा तालिमको अभाव छ । विद्यालयको तल्लो तहमा नै यस किसिमको न्यून उपलब्धि प्राप्त हुनु दुःखको विषय हो । विद्यालयको सुरुको अवस्थादेखि उपल्लो कक्षासम्म यस किसिमको सिकाइ उपलब्धिले सरोकारवाला नागरिकबाट शिक्षामा गुणस्तर वृद्धि नभएको जनगुनासो व्यापक छ ।

बालबालिकाको व्यक्तिगत आचरण र मनोभावना बुझेर भोक, निद्रा, खेल, मनोरञ्जन, रोचक कथा कविता, वार्तालाभ जस्ता विषयमा संलग्न गरी उनीहरूको इच्छा अनुसारको क्रियाकलाप गर्न सहयोग गर्नुपर्ने हुन्छ । आमाको काख र घरपरिवार छाडेर विद्यालय आएका बालबालिकालाई घरको सम्झना चटक्क बिर्सन सक्ने वातावरण विद्यालयमा हुनु पर्छ । बालबालिकाको मनोभावना बुझेर विद्यालयमा सुत्न, खान, खेल्न, गानबजान र रोचक गीत, कथा, कविता सुनाएर मनोरञ्जन दिनु पर्छ । नेपालका सुगमदेखि दुर्गमसम्मका विद्यालयमा बालकक्षाको अवस्था दयनीय छ । गुणस्तरयुक्त भौतिक र शैक्षिक अवस्था राम्रो भएका विद्यालय ज्यादै न्यून छन् । जसको परिणाम बालबालिका विद्यालयमा भर्ना भएर पनि नियमित विद्यालय जान चाहँदैनन् । शैक्षिक सत्रको बिचमा नै विद्यालय छाड्नेको सङ्ख्या पनि अत्यधिक हुन्छ ।

शिक्षा विभाग अनुसन्धान केन्द्रले केही वर्षअगाडि कक्षा आठ र पाँचका विद्यार्थीको पनि स्तरीय परीक्षा लिएर नतिजा विश्लेषण गरेको थियो । हिमाल, पहाड, तराईका जिल्लाका नमुना विद्यालय छनोट गरी अध्ययन भएको थियो । छनोट भएका विद्यालयको कक्षा आठ र पाँचका अध्ययन गर्ने विद्यार्थीको नेपाली, अङ्गे्रजी, गणित, विज्ञान र सामाजिक शिक्षा जस्ता प्रमुख पाँच विषयको स्तरीय परीक्षा लिन प्रश्नपत्र निर्माण गरियो । एकै किसिमका प्रश्नपत्र तयार गरी छनोट भएका सबै विद्यालयमा एकै पटक परीक्षा लिने व्यवस्था थियो ।

उक्त कक्षा आठ र पाँचका प्रमुख पाँच विषयमा परीक्षा लिएर उत्तरपुस्तिका परीक्षण गरी प्राप्त नतिजाप्रति व्यापक लेखाजोखा र मूल्याङ्कन भयो । उक्त परीक्षाबाट प्राप्त प्रत्येक विषयको नतिजाको विश्लेषण गर्दा प्रायः गरेर सबै विषयमा ५०.५ भन्दा कम अङ्क प्राप्त भयो । कक्षा आठ र पाँचका विद्यार्थीले पनि नेपाली विषयमा ५०.५ भन्दा बढी अङ्क प्राप्त गर्न सकेका थिएनन् । अङ्गे्रजी, गणित, विज्ञान र सामाजिक शिक्षा जस्ता विषयमा पनि ४५.५ भन्दा कम नै अङ्क प्राप्त गरेका थिए । त्यसमा हिमाल र तराई क्षेत्रका विद्यार्थीको प्राप्ताङ्क ज्यादै न्यून थियो ।

विद्यालयमा भर्ना भएका विद्यार्थीको प्रगतिको लेखाजोखा र मूल्याङ्कन गर्ने काम शिक्षकबाट नै हुनु पर्छ । विद्यालयमा उपस्थित भएको कुनै पनि विद्यार्थीले आज के सिक्यो वा के सिक्न सकेन भन्ने विषय शिक्षकलाई बढी मात्रामा थाहा हुन्छ । हाम्रा विद्यालयका बालकक्षामा वा माध्यमिक तहमा शिक्षण गरी कक्षाबाट शिक्षक बाहिर निस्कँदा कुन विद्यार्थीले सिक्यो र कुन विद्यार्थीले सिक्न सकेन भनेर लेखाजोखा र मूल्याङ्कन गर्ने प्रचलन छैन । निरन्तर विद्यार्थी मूल्याङ्कनको विषय केवल कागजमा सीमित छ । विद्यार्थीको क्षमता वा सिकाइ उपलब्धिको यथार्थ पहिचान हुनुभन्दा पनि अधिकांश विद्यार्थीको हचुवामा मार्किङ भएको हुन्छ ।

विद्यार्थीले आज के सिक्यो ? भन्नु भन्दा पनि शिक्षकले आज के सिकाए ? भन्ने प्रमुख विषय हो । विद्यार्थीले शिक्षकको प्रत्येक क्रियाकलापको अवलोकन गरी मूल्याङ्कन गरेका हुन्छन् । कुशल र असल शिक्षक, एउटा कुशल सक्षम मूर्तिकार समान हुन्छन् । कुशल सक्षम मूर्तिकारलाई गिलो माटो वा ढुङ्गा दियो भने राधाकृष्ण, रामसीता, शिवपार्वती र बुद्ध भगवान्को आकर्षक मूर्ति बनाएका हुन्छन् । असक्षम र सिप नभएको मूर्तिकारले उक्त भगवान्का आकर्षक मूर्ति निर्माण गर्न सक्दैन । मूर्तिकारमा अभ्यासबाट प्राप्त भएको सिपको प्रयोग भएको हुन्छ । क्षमता र सिप नभएका शिक्षक र सिप नभएका मूर्तिकार एकै हुन् ।

कुशल, क्षमतावान् र असल शिक्षकले विद्यार्थीलाई कुशल मूर्तिकारले निर्माण गरेका आकर्षक मूर्ति जस्तै क्षमतावान् र गुणस्तर सिपयुक्त विद्यार्थी उत्पादन गर्न सक्छन् । शिक्षकले सेतो पाटीमा प्रस्तुत गरेका अङ्क, अक्षर र चित्रको नमुना विद्यार्थीले दुरुस्त उतार्न प्रयास गर्छन् । शिक्षक आफू स्वयम् सफा अक्षर र चित्र कोर्न असमर्थ भएको अवस्थामा विद्यार्थी सक्षम र क्षमतावान् हुने सम्भावना हुँदैन । विद्यार्थीलाई सक्षम र क्षमतावान् तुल्याउन गुणस्तरीय शिक्षा दिन शिक्षकहरू सिपयुक्त र सक्षम हुनु पर्छ ।

शिक्षकको बोलीचाली, बानी, व्यवहार र आचरण खराब भएको अवस्थामा विद्यार्थीमा पनि त्यो रोग लाग्न सक्छ । विद्यार्थीले शिक्षकको बोलीचाली, लवाइखवाइ, हिँडाइ जस्ता विषयको सिको वा नक्कल गर्ने हुनाले शिक्षक नमुनाका रूपमा प्रस्तुत हुनु पर्छ । शिक्षकले जे जस्तो सिकायो विद्यार्थीले त्यही सिकेका हुन्छन् । कक्षामा शिक्षकले प्रस्तुत गरेको विषयवस्तुमा लेखाजोखा र मूल्याङ्कन गर्ने क्षमता सबै विद्यार्थीमा विकास भएको पनि हँुदैन । विद्यार्थी कक्षामा बसेर केही पनि नसिकी घर फर्कन सक्छ । आज विद्यार्थीले केही पनि सिकेन भन्नुको अर्थ शिक्षकले आज केही सिकाउन प्रयासै गरेनन् भन्ने हुन्छ । मूलतः कक्षाका सबै विद्यार्थी दक्ष र सिपयुक्त भएर उच्च अङ्क प्राप्त गर्न सक्षम भएमा मात्र कुशल र सक्षम शिक्षकबाट शिक्षण सिकाइ भएको मानिन्छ ।

विद्यार्थीलाई असल श्रोता र सिकारु तुल्याउन परिवारका सदस्यको पनि गहन भूमिका हुन्छ ।  बालबालिकालाई सभ्य र सुसंस्कृत, असल बोलीचाली र बानी व्यवहार भएको सक्षम नागरिक बनाउन घरपरिवारका सदस्यको पनि गहन भूमिका हुन्छ । सभ्य नागरिकमा हुने सिपको विकास गरी परिपक्क बनाउने काम शिक्षकको हो । कक्षा शिक्षणसँगै शिक्षकद्वारा विद्यार्थीको मूल्याङ्कन गरी सिकाइमा पछि परेका विद्यार्थीलाई पुनर्बल प्रदान गर्नुपर्ने हुन्छ ।  शिक्षण सिकाइबाट सिकारु सबैले समान उपलब्धि प्राप्त गर्ने उद्देश्य हुनु पर्छ ।

विद्यार्थीको सिकाइ उपलब्धि र व्यक्तिगत आचरणलगायतका विभिन्न क्रियाकलाप मापन र मूल्याङ्कन गरी व्यक्तिगत अभिलेख राख्ने गर्नु पर्छ । उक्त अभिलेखमा कक्षाका सबै विद्यार्थीको अतिरिक्त क्रियाकलाप निरन्तर मूल्याङ्कन र सिकाइ उपलब्धिको लेखाजोखा गरी अभिलेख तयार गर्नु पर्दछ । कुनै पनि विद्यार्थीको सबै पक्षको निरन्तर मूल्याङ्कन गरी अभिलेखीकरण गर्दा कक्षा चढ्ने समयमा मापन र मूल्याङ्कन गर्न सजिलो हुन्छ । कक्षाका सबै विद्यार्थीको निरन्तर मूल्याङ्कन व्यवस्थित रूपमा लागु गरेको अवस्थामा सिकाइमा विद्यार्थी पछि पर्ने सम्भावना कम हुन्छ ।

विद्यालयमा शिक्षण गर्ने शिक्षकको योग्यता र तालिमको लेखाजोखा गर्दा कागजमा सबै शिक्षक सक्षम देखिन्छन् । विद्यार्र्थी शिक्षणको अवसरमा कक्षा अवलोकन गर्दा कक्षाका लगभग ५०.५ विद्यार्थीले विषयवस्तु राम्रोसँग बुझेका हुँदैनन् । शिक्षणसँगै विद्यार्थीले के कति जाने बुझे र भन्न र गर्न सक्ने भए भनेर मूल्याङ्कन गर्ने परिपाटी भएन । यस्तो परिपाटीको विकास गर्न आवश्यक छ ।

शिक्षण सिकाइ र मूल्याङ्कन गरी अभिलेख राख्ने विषयमा शिक्षकलाई दक्ष र जिम्मेवार बनाउन सकिएको छैन । विद्यालय शिक्षामा गुणस्तर वृद्धि गर्न शिक्षकलाई पुनर्ताजगी तालिम दिने, शिक्षण सिकाइका साथै मापन र मूल्याङ्कन गर्न सक्षम र जिम्मेवार बनाउनुपर्ने हुन्छ ।

विद्यार्थी नै जान्दैन, सिक्न सक्दैन, पढ्न र लेख्न जान्दैन भनेर शिक्षक आफू बच्ने गरेको पाइन्छ । विद्यार्थीले किन सिकेन ? किन भन्न र लेख्न सकेन ? उक्त विद्यार्थीमा के कमजोरी भएर भन्न र लेख्न नसकेको हो ? भनेर खोज अनुसन्धान गर्ने शिक्षकमा सिपको विकास भएको छैन । शिक्षक कक्षामा प्रवेश गर्नुअघि आज के सिकाउने ? विद्यार्थीलाई कुन विषयवस्तुमा दक्ष वनाउने ? के कस्ता सिपको विकास गर्ने ? भन्ने विषयमा कुनै योजना नै बनेको हुँदैन । केही विद्यार्थी कक्षा शिक्षणको समयमा पाठ्यपुस्तक हेर्नसम्म चाहेका हुँदैनन् । विद्यार्थी परीक्षामा असफल भए त्यसको दोषी को हुन्छ ? राम्रो नसिकाउने शिक्षक, चासो नराख्ने अभिभावक र नियमित विद्यालय नजाने र नपढ्ने विद्यार्थी । निर्दोष विद्यार्थी गुणस्तर शिक्षा आर्जन गर्न असमर्थ भएर उनीहरूको भविष्य नै अन्धकारमय भएको छ ।

शिक्षण सिकाइ भनेको विद्यार्थी–शिक्षकबिचको अन्तरसम्बन्ध हो । विषयवस्तुलाई शिक्षकले विभिन्न सामग्रीका माध्यमबाट विद्यार्थीको मनमस्तिष्कसम्म पु¥याउन प्रयास गर्नु पर्छ । जतिसुकै जटिल विषयवस्तुलाई पनि शिक्षक–विद्यार्थीका बिचमा हुने दुई पक्षको गहन छलफलबाट सहज बनाउन सकिन्छ । कुन रणनीति अपनाएर के कसरी शिक्षण गर्दा विद्यार्थीले सहज रूपमा विषयवस्तु ग्रहण गर्न सक्छन् भन्ने बारेमा शिक्षक सचेत हुनु पर्छ । विद्यालयमा पुस्तकालय छ, पुस्तकालयका पुस्तकको प्रयोग भएको हुँदैन । पुस्तक पढ्ने पाठकवर्गको अभाव छ । विज्ञानका ल्याब छन्, त्यसको प्रयोग भएको हुँदैन । वर्षमा तीन/चार वटा परीक्षा हुन्छन्, उपलब्धि लेखाजोखा भएको हुँदैन । त्यो सबैको परिणाम नै विद्यार्थी असफल हो । बढी विद्यार्थी असफल हुनुको प्रमुख कारण विषय शिक्षण र मूल्याङ्कन गर्न शिक्षकलाई सक्षम बनाउन नसक्नु हो । गोरखापत्रबाट

Previous Post Next Post