काठमाडौं । विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा बीमा शिक्षा सम्बन्धी विषयवस्तु समावेश गर्ने विषयमा नेपाल बीमा प्राधिकरणले सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषय समितिका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो । विद्यालय तहमा अनिवार्य विषयका रूपमा रहेको सामाजिक अध्ययन पाठ्यपुस्तकको परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे जानकारी दिनु जरुरी रहेको बताउनुभयो । उहाँले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्न सानै उमेरदेखि सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“बीमाले मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण गर्छ,” अध्यक्ष शर्माले भन्नुभयो, “सानैदेखि बीमाबारे जानकारी भएमा बीमाको दायरा विस्तार हुन्छ, लागत घट्छ, जोखिम न्यूनीकरण हुन्छ र यसले समग्र आर्थिक विकासमा योगदान पुर्याउँछ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूले बीमाका आधारभूत पक्ष बुझून् र अध्ययनपछि अरूलाई पनि जानकारी दिन सकून् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा बीमा सम्बन्धी विषयवस्तु समावेश गरिँदै आएको जानकारी दिनुभयो ।
उहाँले पाठ्यक्रम परिमार्जनको क्रममा बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने उल्लेख गर्दै सबै प्रक्रिया पूरा गरी परिमार्जित पाठ्यक्रम आगामी २०८४ शैक्षिक सत्रदेखि देशव्यापी रूपमा लागू हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण तिवारीले सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र तयारीमा बीमा सम्बन्धी विषयवस्तु प्रतिबिम्बित गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले विद्यालय तहको प्रस्तावित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तु पहिचान गरी सुझावसहित पाठ्यक्रम विकास केन्द्रलाई उपलब्ध गराइने बताउनुभयो ।
कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । साथै सामाजिक अध्ययन विषय अन्तर्गत कक्षा ४ देखि १२ सम्मका प्रस्तावित पाठ्यक्रममा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तुहरूमाथि विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित निकायका पदाधिकारी, विषय विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो ।
