अर्घाखाँची । जर्मनवासी राजेन्द्र प्रसाद भुसालले आफ्नो जन्मस्थानमा रहेको विद्यालयलाई उच्च शिक्षा सञ्चालनका लागि एक लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ ।
तीन दशकदेखि जर्मनीमा बसोबास गर्दै आएका अर्घाखाँचीका भुसालले मालारानी–७ बामरुकस्थित श्री वैधनाथ निमकुमारी बलबहादुर माध्यमिक विद्यालयलाई कक्षा ११–१२ सञ्चालनका लागि एक लाख ११ हजार ११५ रुपियाँ सहयोग प्रदान गर्नुभएको हो ।
विद्यालयलाई भुसालले कक्षा ११–१२ सञ्चालनका लागि विद्यालयमै उपस्थित भएर उक्त रकम विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।
ग्रामीण क्षेत्रमा माध्यमिक तहको पहुँच विस्तार चुनौति भइरहेका बेला भुसालको सहयोगले शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ ।
गाउँमै कक्षा ११–१२ सञ्चालन नहुँदा बाहिरिनुपर्ने बाध्यतामा रहेका स्थानीय विद्यार्थीलाई राहत दिने उद्देश्यले उक्त सहयोग गरेको भन्दै भुसालले भन्नुभयो –“गाउँको विद्यालयलाई केही गर्न पाइयो ।”
प्रवासमै रहेर पनि जन्मथलोप्रतिको उत्तरदायित्व निभाउँदै आउनुभएका भुसालले सो क्षेत्रका अरु विद्यालयहरुमा पनि अक्षयकोष नै स्थापना गरेर वर्षेनी लाखौं रुपियाँ सहयोग गर्दै आउनुभएको छ ।
भुसाल मूल रूपमा साविक मालारानी–७ बसुमाटका निवासी तथा विद्यालयका अभिन्न सहयोगी हुनुहुन्छ । उहाँ चुरामणी–भुमिश्वरा अक्षयकोषका दातासमेत हुनुहुन्छ । विदेशमा बसेर पनि जन्मथलो, शिक्षा र समुदायप्रतिको दायित्वबोधसहित उहाँले गरेको योगदान ‘उदाहरणीय’ भएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार उपलब्ध सहयोगले कक्षा ११–१२ विस्तारमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ । यससँगै स्थानीय विद्यार्थीलाई माध्यमिक तहको गुणस्तरीय शिक्षा अब गाउँमै उपलब्ध हुने र बाहिरिनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।
विद्यालयका शिक्षक तथा अभिभावकहरूले भुसालको सहयोगलाई ‘शैक्षिक विकासमा महत्वपूर्ण टेवा’ भन्दै कृतज्ञता व्यक्त गरेका छन् । “आजका बालबालिका भोलिका राष्ट्र–निर्माता हुन् । तिनको भविष्य निर्माणमा प्रवासबाट गरिएको भुसालको योगदान प्रेरणादायी छ,” विद्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले भुसालको स्वास्थ्य, समृद्धि र आगामी सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
