शंखमूलस्थित एआईएमा उत्साहपूर्वक ११औँ बाल उत्सव आयोजना

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर ३१ शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीले (एआईए) बालबालिकाको प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्य अनुरुप ११ औं बाल उत्सव मनाएको छ । बालबालिकाको मनोबल उच्च राख्ने उद्देश्यले शनिबार विद्यालय परिसरमा आयोजना गरिएको सो बाल उत्सव कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गरिरहेका बालबालिकाहरूले सागंीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सागींतिक कार्यक्रममा तीनसय बढी छात्र–छात्राहरुको सहभागीता रहेकोे थियो भने अभिभावकहरूले आनन्द र हर्षोउल्लासपूर्वक आफ्ना नानीबाबुहरूका प्रतिभाको कदर गर्दै सो कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख आतिथिका रूपमा काठमाडौं महानगरपालिकाका स्रोत शिक्षक रमेशकुमार दर्जीले विद्यालयबाट उत्पादन हुने सुयोग्य नागरिकले नै भोलिका दिनमा राष्ट्रको लागि योगदान पु-याउन सक्ने बताउनुभयो ।

आजका बालबालिका भविष्यका कर्णाधार भएको बताउँदै एआईएको निरन्तर सफलता र क्रियाशीलताकोे प्रशंसा गर्नुभयो ।

विद्यालयका संस्थापक तथा प्राचार्य विष्णुप्रसाद अर्यालले ‘वार्षिक बाल–उत्सव’ आयोजना गर्नुको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो । बालबालिका भोलिका कर्णाधार हुन् ऊनीहरूमा भएको प्रतिभा अभिभावकको वीचमा राख्न पाउँदा हर्षविभोर भएको बताउँदै ‘बालबालिकालाई लक्षित गरी वार्षिक रुपम बाल–उत्सव’ आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो ।

विद्यालयका संस्थापक तथा प्रमुख शिक्षा निर्देशक डा. चेतनाथ कणेलले स्वागत मन्तव्यमा विद्यालय सञ्चालन भएको करिब २० वर्षमा अझै व्यापक, गुणस्तरीय र फराकिलो बन्दै गएको बताउनुभयो । एआईएले वर्षभरि सम्पन्न गरेका शैक्षिक तथा विविध क्रियाकलापहरू एवम् विद्यालयले प्राप्त गरेका प्रमुख उपलब्धिहरूका बारेमा संक्षिप्तमा जानकारी गराउनुभएको थियो । अभिभावकहरूका तर्फबाट मन्तव्य राख्दै निराजन लुइँटेलले एआईएले शिक्षा क्षेत्रमा राम्रो काम गरिरहेको र गुणस्तरीय शिक्षा प्रदानका लागि यहाँको पूर्ण सक्षम र समर्पित टिम देखेर नै आफू प्रभावित भएको बताउनुभयो । साथै, विद्यालयले आगामी दिनमा थप मेहनत गरी काठमाडौंमा एक अब्बल विद्यालयको रुपमा स्थापित हुने कुरामा विश्वस्त भएको बताउनुभयो ।

विद्यालयका संस्थापक तथा शिक्षा निर्देशक कृष्णप्रसाद गैरेले सञ्चालन गरेको बाल–उत्सव कार्यक्रममा स–साना भाइबहिनीहरूबाट करिब दुई दर्जन सांगीतिक प्रस्तुतिका अतिरिक्त समसामयिक सामाजिक सवालमा केन्द्रित एकांकी नाटकहरूका साथै विशेष प्रतिभाहरूसमेत प्रदर्शन भएका थिए । समारोहमा उपस्थित अभिभावकहरुले पनि विद्यार्थीहरुका गीत, नृत्य र नाटकका माध्यमबाट भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको अवधिभर विविध प्रकारका परम्परागत तथा आधुनिक बाजाहरू बजाउने कार्यमा पनि विद्यालयकै छात्रछात्राहरूको नेतृत्वदायी भूमिका थियो । कार्यक्रमकै अवसर पारेर शैक्षिक सत्र २०८१ मा नर्सरीदेखि कक्षा दुईसम्म उत्कृष्ट नतिजा हासिल गर्ने नानीबाबुहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीले गर्नुभएको थियो भने कार्यक्रम संयोजन तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यमा संस्थापक तथा प्रबन्ध निर्देशक विमल घिमिरे, विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरी, संस्थापक तथा कार्यकारी निर्देशक शैलेन्द्रकुमार झा सक्रियरूपमा सरिक हुनुहुन्थ्यो । कार्यक्रम सफल पार्न अत्यन्त मेहनत साथ खटिने सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारीवर्ग तथा स्वयमसेवकको रूपमा खटिने एआईए स्काउट टिम र अपार उत्साहका साथ कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकहरूलाई अध्यक्ष ज्ञवालीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

एआईएले विद्यालय स्थापनाकालदेखि नै हरेक वर्ष जुनियर तथा सिनियर गरी दुईपटक ‘वार्षिक रूपमा बालउत्सव’ तथा अभिभावक भेला आयोजना गर्दै आएको छ ।

Previous Post Next Post