विद्यार्थी, शिक्षक, कर्मचारी र सञ्चालकको संयुक्त पहलमा रकम सङ्कलन; बाढीमा ज्यान गुमाउनेप्रति शोकसभा र श्रद्धाञ्जली
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट विपद्मा परेका परिवारको सहयोगार्थ शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए स्कुल) परिवारले १ लाख ३३ हजार ८९८ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय सञ्चालकहरूको संयुक्त पहलमा सङ्कलन गरिएको उक्त रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा चेकमार्फत जम्मा गरिएको विद्यालयका प्राचार्य विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो।
विपद्मा परेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारका विभिन्न पक्षबाट रकम सङ्कलन गरिएको प्राचार्य अर्यालले बताउनुभयो। उहाँका अनुसार विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकहरूको सामूहिक सहभागितामा उक्त सहयोग जुटाइएको हो।
यसैबीच, एआईएले सोमबार विद्यालय परिसरमा विशेष शोकसभासमेत आयोजना गरेको थियो। कार्यक्रममा भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीमा परी अकालमा ज्यान गुमाउने सम्पूर्णप्रति सामूहिक रूपमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
विद्यालयले विपद्को यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको जनाएको छ।
