काठमाडौं — राष्ट्रिय मिर्गौला उपचार केन्द्र (हेकाफ नेपाल) को गौशाला शाखामा जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार भएको तोडफोड र आगजनीका कारण मिर्गौला उपचारका सेवाहरू प्रभावित भएका छन् ।
केन्द्रका अनुसार आन्दोलनकारीहरूले जबरजस्ती उपचार केन्द्रको हाताभित्र प्रवेश गरी त्यहाँ रहेका औषधि, ल्याब सामग्री, कम्प्युटर, ल्यापटप तथा मिर्गौला उपचारका लागि अत्यावश्यक उपकरणहरूमा तोडफोड गरेका थिए । साथै, पार्किङमा राखिएका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरिएको थियो ।
यस घटनाका कारण केन्द्रमा नियमित रूपमा सेवा लिइरहेका ८० जना बिरामीको डायलाइसिस सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । सेवा बन्द भएपछि बिरामीहरू गम्भीर समस्यामा परेका छन् ।
केन्द्रले अस्थायी रूपमा सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको जनाउँदै शुक्रबारदेखि आंशिक रूपमा सेवा पुनः सुरु गर्ने जानकारी दिएको छ । सेवा अवरुद्ध भएकोमा केन्द्रले बिरामीहरूप्रति क्षमा याचना गरेको छ ।
केन्द्रका अध्यक्ष डा. ऋषि कुमार काफ्लेले घटनालाई “दुर्भाग्यपूर्ण” भन्दै यो मानवीय सेवामाथि प्रहार भएको बताउनुभएको छ । साथै, उहाँले संकटको अवस्थामा सबै दाताहरू तथा सहयोगी संस्थाहरूलाई भौतिक तथा आर्थिक सहयोग गर्न अपिल गनुभएको छ ।
साथै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यस्ता अत्यावश्यक संस्थाहरुको सुरक्षाका लागि आवश्यक कदम चालिनुपर्नेमा अध्यक्ष काफ्लेले जोड दिनुभयो ।

.jpeg)

