काठमाडौं । अन्तराष्ट्रिय स्वयंसेवी सँस्था अप्टिमिष्ट फेब्रुअरीको पहिलो दिनलाई आफ्नो अन्तराष्ट्रिय दिन मान्दै विभिन्न कार्यक्रम गरी मनाएको छ ।
अप्टिमिष्ट, नेपाल डिस्ट्रिक्टको सप्ताहव्यापी कार्यक्रमअन्तरगत बिहीबार बिहान प्रभातफेरिबाट सुरु भएको छ । नेपाल डिस्ट्रिक्टका गभर्नर प्रकाश घिमिरे र निवर्तमान गभर्नर पृथ्वीराज थापाले संयुक्तरुपमा रिबन काटेर पुरानो बानेश्वरबाट सुरु गरिएको प्रभातफेरी बागबजारमा समापन भएको थियो ।
सन् १९१९ मा अमेरिकामा स्थापना भएको स्वयँसेवी सँस्था अप्टिमिष्टले विभिन्न देशमा आफ्नो स्थानीय क्लब मार्फत बालबालिकालाई सकारात्मक सोच पैदा गर्ने कार्यक्रम गर्छ ।
विश्वको धेरै देशहरुमा फैलिएको सँस्थाको नेपालमा ५६ वटा क्लबहरु छन् । फेब्रुअरीको पहिलो दिनलाई आफ्नो अन्तराष्ट्रिय दिन मानेर विभिन्न कार्यक्रम गरी मनाउने परम्परा छ ।
बिहीबार फेब्रुअरीको पहिलो बिहिबार अनि पहिलो दिनबाट सुरु गरिएको सप्ताहब्यापी कार्यक्रम देशभरिकै क्लबहरुले वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगिता, सकारात्मक पत्रकारिता, ख्यातिप्राप्त व्यक्तित्वहरुसँग अन्तक्रिया, फुटसल प्रतियोगिता, सकारात्मक ज्ञान दिने पुस्तक वितरण, न्यायो कपडा वितरण, स्टेशनरी सामग्री वितरण लगायत कार्यक्रम गरी मनाउने कार्यक्रमका मुख्य सँयोजक सँस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलियाले जानकारी दिनुभयो ।
बोल्न सुन्न नसक्ने बालबालिकाको सांकेतिक भाषा मार्फत आफ्ना विचार राख्ने प्रतियोगिता पनि गरिने थपलियाले जानकारी गराउनुभयो ।
गत वर्ष नेपालमा वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकि सिजन कार्कीले अन्तराष्ट्रियमा दोस्रो स्थान हासिल गरि अमेरिकन डलर ७५०० राशिको पुरस्कार प्राप्त गर्न सफल हुनुभयो ।