त्रासदेखि दण्डहीनता सम्म, नेपालमा मिडियामाथि बढ्दो खतरा

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले त्रासदेखि दण्डहीनतासम्म, नेपालमा मिडियामाथि बढ्दो खतरा” शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन  काठमाडौंमा आयोजित एक समारोहवीच सार्वजनिक गरेको छ ।

मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघनहरू समेटिएको प्रतिवेदन मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले भन्नुभयो, “यस वर्षको प्रतिवेदनले नेपालको मिडिया तथा अभिव्यक्ति स्वतन्त्रताको परिदृश्यमा गहिरिंदो संकट र चिन्ताजनक अवस्था उजागर गरेको छ ।

हाम्रो प्रतिवेदनले पत्रकारहरूलाई लक्षित गर्दै भइरहेका धम्की र आक्रमणहरूबारे गम्भीर तस्वीर प्रस्तुत गरेको छ । यस्ता उल्लंघनले केवल पत्रकारहरूको सुरक्षामा खतराको संकेत मात्र गर्दैन, लोकतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउँदछ ।”

यसैगरी कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेश आचार्यले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका जघन्य घटनाहरुमा पनि अन्तराष्टिय समूदायको चासो कम देखिएको भन्दै यसमा प्रेस स्वतन्त्रताका लागि काम गर्ने पत्रकार महासंघ जस्ता संस्थाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकार सुरक्षाको क्षेत्रमा अझ बढी काम गर्ने बेला आएको र त्यसका लागि महासंघले कसरी र कुन मापदण्ड अनुसार पत्रकारको सुरक्षाको लागि काम गर्ने भन्ने विषयमा पहल र छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, पत्रकारको सुरक्षा नै पहिलो शर्त हो त्यसपछि मात्र कामको कुरा आउँछ ।

मिडिया एक्सन नेपालका अनुसार यस वर्ष ३२ वटा प्रेस र अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना प्रलेखिकरण भएका छन्, जसले ४० जना व्यक्ति र सञ्चार गृहलाई प्रभावित पारेका छन् । तीमध्ये दुई जना पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, छ जनासहितको तीन जना पत्रकारको गिरफ्तारी (संस्कृति रिर्पोटिङ र अदालतको अवहेलनासम्बन्धी), तीन वटा सूचनाको अवरोध, दुई वटा उपकरण नियन्त्रणमा लिने घटना र २४ जना पत्रकार र मिडिया संस्थालाई लक्षित गर्दै गरिएका २२ वटा धम्की र त्रासका घटनाहरू रहेका छन् ।

प्रतिवेदन सार्वजनिक गर्दै पन्तले भन्नुभयो, “यी तथ्यांकहरू केवल आँकडा मात्र होइनन्, पत्रकारिताको वातावरण बिग्रँदै गएको संकेत पनि हुन् जहाँ मिडिया र स्वतन्त्र आवाजमाथि त्रास सिर्जना गर्नु शासकको उपकरण बन्दै गएको छ ।” प्रतिवेदनमा राज्य तथा गैर(राज्य पक्षबाट भएका उल्लंघनहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ । यस्तै १६ वटा घटना सरकारी निकायसँग, एक विदेशी दूतसँग र २३ वटा गैर (राज्य पक्षसँग सम्बन्धित रहेका छन् ।

पत्रकार सुरेश रजकको २०२५ मार्च २८ मा भएको राजसंस्था समर्थक प्रदर्शनको क्रममा हत्या र पत्रकार गजेन्द्र बुढाथोकीलाई भ्रष्टाचार रिपोर्टिङको कारण चिनियाँ दूत चेन् सोंगबाट धम्की दिइएको घटना विशिष्ट रूपमाउजागर गरिएको छ ।

प्रभावितमध्ये महिला पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको पानीको फोहराबाट घाइते भएकी थिइन्, जसले पत्रकारितामा महिला पत्रकारहरूलाई पर्ने विशिष्ट जोखिमलाई झनै प्रस्ट पारेको छ । कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र समाधान दैनिक जस्ता प्रमुख मिडिया संस्थाहरू आक्रमणको शिकार हुँदै अवरोध र प्रतिशोधबाट अछुतो नरहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका सन्दर्भमा पन्तले जोड दिँदै भने, “मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ता त्रुटिपूर्ण कानुनहरू नागरिक समाजको परामर्शबिना पारित गर्न खोज्नु स्वतन्त्र पत्रकारिता नियन्त्रण गर्ने रणनीति हो ।” यस्ता विधेयकहरूले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टीमाथि गम्भीर खतरा उत्पन्न गर्ने हुँदा तत्काल संशोधन आवश्यक रहेको उनले बताए। पत्रकारहरूको सुरक्षा केबल मिडियाको मुद्दा नभई लोकतान्त्रिक आवश्यकता भएको उल्लेख गर्दै पन्तले भने, “नेपालले राजनीतिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेका बेला स्वतन्त्र र निर्भीक मिडियाको संरक्षण अपरिहार्य छ ।”

प्रतिवेदन सार्वजनिक कार्यक्रममा ‘कृत्रिम कृत्रिम बौद्धिकता एआई र प्रेस स्वतन्त्रतामाथिको प्रभाव’ शीर्षकमा आयोजित अन्तरक्रियात्मक छलफलमा पत्रकार, मिडिया तथा कानुनी विज्ञहरू सहभागी भई, एआईको सम्भाव्यता र चुनौतीबारे बहस गरेका थिए। छलफलमा सञ्चार साक्षरताको आवश्यकता र दुरुपयोग रोक्न नीतिगत संरचना निर्माण गर्नुपर्नेमा जोड दिइयो ।

प्रेस स्वतन्त्रता प्रतिवेदनबारे टिप्पणी गर्दै अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले मिडिया एक्सन नेपालको प्रेस स्वतन्त्रताप्रतिको निरन्तर प्रतिबद्धताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “मिडिया एक्सन नेपालजस्ता संस्थाहरूले उल्लंघनहरू अभिलेख राखी राष्ट्रिय विमर्शलाई मार्गदर्शन गर्ने भरपर्दो वाचडगको रूपमा काम गरिरहेका छन् ।” उहाँले सरकार र सरोकारवालाहरूले प्रतिवेदनका सिफारिसहरू गम्भीर रूपमा लिन आग्रह गर्नुभयो ।

प्रतिवेदन मिडिया एक्सन नेपालको वेबसाइटमा उपलब्ध छ । मिडिया एक्सन नेपालले सरोकारवाला सबैलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आ आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गरेको छ ।

Previous Post Next Post