राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झालाई एक लाख एक हजार रुपियाँ नगदसहित सम्मान

काठमाडौं । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरूप राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झालाई एक लाख एक हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ ।

संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोट्र्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोट्र्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झालाई उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सम्मानपत्र र नगद रकम हस्तान्तरण गर्दै गुलशन झाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले युवा पुस्तालाई खेलकुदमार्फत अनुशासित, सक्षम र आत्मनिर्भर बनाउन यस्तो सम्मानले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्कृति स्कुलले यसअघि पनि विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेट खेलाडी कुशल मल्ल र तेस्रो संस्करणमा पलेशा गोवर्धन लाई संस्कृति स्पोट्र्स सम्मान प्रदान गरिसकेको छ ।

साथै उक्त अवसरमा संस्कृति स्कुलका अध्यक्ष रन्जीत आचार्यले खेलकुद क्षेत्रमार्फत राष्ट्रको पहिचानलाई विश्वस्तरमा चिनाउने प्रतिभाहरूलाई निरन्तर हौसला प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुृभयो ।

Previous Post Next Post