३.६ जीपीएभन्दा माथि ल्याउने विद्यार्थी ४८ हजार बढी
काठमाडौं । सुधारिएर एसईईको नतिजा सार्वजनिक भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा राम्रो सुधारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस पटकको नतिजा पछिल्लो वर्षको तुलनामा उच्च उत्तीर्ण दर हो । अहिलेको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले धेरै हो । यसपटक एसइईमा न्यूनतम ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउने गरी सरकारी तयारी थियो । गत वर्ष एसइईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
बोर्डले २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका चार लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन् । त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
ग्रेडबृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको उत्तीर्ण प्रतिशतलाई समेत आधार मानेर गणना गर्ने हो भने सरकारी लक्ष्यभन्दा पनि बढी उपलब्धि हुने देखिन्छ ।
नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले गत वर्षको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएपछि सरोकारवाला सबैको ध्यान यसपटकको नतिजा सुधार गर्नुपर्छ भन्नेतर्फ केन्द्रित भएको र त्यसैको परिणाम अहिले देखिएको बताउनुभयो । गत वर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएपछि स्थानीय तहदेखि केन्द्रसम्मै हामीले नतिजा विश्लेषण ग¥यौँ । विद्यार्थी कमजोर भएका विषयको सिकाइ सुधार्नेतर्फ अध्ययन ग¥यौँ”, शर्माले भन्नुभयो, “सोही अनुसार रणनीति बनाएर शिक्षक कर्मचारी परिचालन ग¥याँै र विद्यार्थीलाई पनि सोही अनुसार पढाइमा खटायौँ । त्यसको परिणाम नतिजामा देखियो ।”
परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई बोर्डले ग्रेडेड समूहमा राख्ने गर्दछ । यो समूहमा पर्न परीक्षार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत र आन्तरिक तर्फ न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । सैद्धान्तिकतर्फको ७५ पूर्णाङ्कको विषयमा कम्तीमा २७ अङ्क र आन्तरिकतर्फको २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
यो व्यवस्था गर्त वर्षदेखि लागु गरिएको हो । पहिलो पटक लागु गरिएका कारण गतवर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएको र सोही अनुत्तीर्ण दरलाई हेरेर विद्यार्थीमा पढ्ने बानीको समेत विकास हुँदा नतिजा अहिले सुधारिएको बोर्डको विश्लेषण छ । परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी थिए, जसमध्ये बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार उच्च अङ्क ल्याउनेलाई जीपीए ३.६० देखि ४ सम्म र सबैभन्दा कम ल्याउनेलाई एनजी सहित सात समूहमा राखेर नतिजा प्रकाशन गरेको छ । बोर्डका अनुसार जीपीए १.६० देखि २ भन्दा कम – ८ जना, जीपीए २ देखि २.४० भन्दा कम – ४,१२६ जना, जिपिए २.४० देखि २.८० भन्दा कम – ४८,४७९ जना, जीपीए २.८० देखि ३.२० भन्दा कम– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६० भन्दा कम – ८१,३८५ जना, जीपीए ३.६० देखि ४ सम्म – ४८,१७७ जनाले ल्याएका छन् ।
गणितमा धेरै फेल
विगतमा जस्तै यसपालि पनि गणितमा धेरै फेल भएका छन् । गणितमा १ लाख २८ हजार र अंग्रेजीमा ८० हजार ६ सय ४२ फेल भएका छन् । त्यसैगरी विज्ञानमा ७९ हजार फेल भएका छन् । सामाजिक अध्ययनमा ५६ हजार फेल भएका छन् ।
साउनमा ग्रेडबृद्धि परीक्षा
परीक्षामा अनुत्तीर्ण हुने करिब ३८ प्रतिशत परीक्षार्थीका लागि बोर्डले आगामी साउन २९ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षार्थीले ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा मौका परीक्षा दिन पाउनेछन् ।
बोर्डका अनुसार गणितमा सबैभन्दा धेरै अर्थात् एक लाख २८ हजार २१५ जनाको एनजी आएको छ । त्यस्तै विज्ञानमा ८९ हजार २७१, अनिवार्य अंग्रेजीमा ८० हजार ६७२, सामाजिक अध्ययनमा ५३ हजार १८६ जनाको एनजी आएको छ । ऐच्छिक अर्थशास्त्र र ऐच्छिक गणितमा व्रmमश ः ४२ हजार १५० र १८ हजार २७२ जनाको एनजी आएको बोर्डले जनाएको छ ।
यस वर्षको एसइई गत चैत ७ गतेदेखि सुरु भई चैत १९ गते सकिएको थियो । यसअघि सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि परीक्षा सकिएको तीन महिना पुग्नै लागेको छ तर परीक्षा सकिनेबित्तिकै सामुदायिक विद्यालयका शिक्षकले एक महिनासम्म सञ्चालन गरेको काठमाडौँ केन्द्रित सडक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण पनि एक महिना ढिलो सुरु भएको थियो तर रातको समयमा समेत उत्तरपुस्तिका परीक्षण गरेर र कार्यालयका कर्मचारीले समेत बिहानदेखि बेलुका अबेरसम्म काम गरेर तोकिएको समयमै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईले बताउनुभयो ।
हाम्रो मिहिनेतले नतिजा सुधार : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मिहिनेतका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार भएको बताउनुभएको छ ।
नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत एसइईमा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “परीक्षामा ग्रेड प्राप्त गरेका भएका भाइबहिनीलाई हार्दिक बधाई ! ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ ।”