तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड सम्पन्न, सर्वोत्कृष्ट भजन गायक बने मोतिराज खनाल

काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ राजधानीमा सम्पन्न भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गायक मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायकको अवार्ड हात पारेका छन् ।

आयोजक संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका सर्जक र कलाकारलाई विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत तीन वर्षदेखि आयोजना हुँदै आएको अवार्डमा पब्लिक च्वाइससहित गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा वरिष्ठ गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित गरिएको थियो ।

यसैगरी चलचित्र क्षेत्रतर्फ निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङलाई ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ प्रदान गरिएको थियो । गायक तथा संगीतकार अशोक मुकारुङ, चलचित्रकर्मी किशोर झा, गायक पुष्कर सुनुवार, गायक तथा संगीतकार चित्र आठपहरिया, ट्याटु कलाकार सुनिता कुँवर, प्रशान्त पाराङदेन लिम्बू, कविता राई, निर्माता श्रीकृष्ण विष्ट र गायक निमा शेर्पालगायतलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो ।

समारोहमा अवार्ड जुरी सदस्यका रूपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार तथा सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेका थिए ।

समारोहमा जुरी सदस्यहरूका साथै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डी. आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगरलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मा.वि. र एसवाई कन्सल्टेन्ट्सलगायतले प्रायोजन गरेका थिए ।

बुन्चट कलेक्शन र सेवा रेकर्डिङ सपोर्टरका रूपमा रहेका थिए भने डिस होम इन्टरनेट पार्टनर रहेको थियो । रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

अवार्ड बिजेताहरूमा सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतमा ‘यो देशले तिम्रो’, सर्वोत्कृष्ट भजन गायकमा मोतिराज खनाल, सर्वोत्कृष्ट गीतकारमा चन्द्र जयपाल राई, सर्वोत्कृष्ट पप गायिका तपस्या राई, सर्वोत्कृष्ट पुरुष मोडेल ज्ञानदिप सुवेदी, सर्वोत्कृष्ट लोक गायक सोम गुरुङ रहेका छन् ।

यस्तै सर्वोत्कृष्ट सङ्गीतकारमा सुरेश राई, सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशकमा किशोर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायक मेघराज रानोहन्छा, सर्वोत्कृष्ट लोक आधुनिक गायिकामा  सुनिता राई, सर्वोत्कृष्ट युगल गायिकामा मेनुका राई, सर्वोत्कृष्ट आधुनिक गीतकारमा  कुमार केरुङ, सर्वोत्कृष्ट लिम्बू पालाम गायकमा भीमकुमार तुम्बापो रहेका छन् ।

साथै सर्वोत्कृष्ट भिडिओ सम्पादकमा मोहन सुनुवार, सर्वोत्कृष्ट लोक पूर्वेली गायिकामा सुमी चाम्लिङ राई, सर्वोत्कृष्ट तीज गीतमा स्वेता कार्की, सर्वोत्कृष्ट लोक युगल निर्देशकमा शिवजी क्षेत्री, वर्षका उत्कृष्ट चलचित्र निर्देशकमा हस्तबहादुर लिबाङ (लिम्बू) रहेका छन् ।

साथै जनमत (पब्लिक च्वाइस) अवार्ड अन्तरगत सर्वोत्कृष्ट युगल गायकमा बबिना किराँती र सुमन राई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतमा टेक तामाङ, सर्वोत्कृष्ट गीतकारमा मीरा देवी राई, सर्वोत्कृष्ट पप गायिकामा सरगम राई, सर्वोत्कृष्ट लोक गायकमा रामचन्द्र चन्द र सर्वोत्कृष्ट भिडिओ निर्देशकमा कुबेर तामाङ रहेका छन् ।

तेस्रो संस्करणसम्म आइपुग्दा राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डले नेपाली गीत–सङ्गीत तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने सर्जक र कलाकारलाई सम्मान तथा प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गर्दै गएको आयोजकको भनाइ छ ।

Previous Post Next Post