चन्द्रनगरमा सीमान्तकृत मुसहर समुदायलाई दुईदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सर्लाही । चन्द्रनगर गाउँपालिकाका सीमान्तकृत मुसहर समुदायका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको छ । मधेश प्रदेशका अधिकांश जिल्लामा बसोबास गर्ने दलित तथा मुसहर समुदाय शिक्षा र चेतना अभावमा आर्थिक, सामाजिक रूपमा पिछडिएका छन् । दैनिक कमाएर गुजारा गर्ने र भविष्यका लागि बचत नगर्ने मुसहर समुदायलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रमअन्तर्गत आम्दानी, खर्च विश्लेषण, बचत तथा ऋण, पारिवारिक बजेट, बैंक तथा वित्तीय कारोबार, वित्तीय अनुशासन, अनलाइन बैंकिङ, बिमा, रेमिट्यान्सबारेमा जानकारी दिइएको थियो ।

नेपाल मुसहर संघ सर्लाही जिल्ला अध्यक्ष रितुराज ऋषिका अनुसार देशभर तीन लाख हाराहारीमा मुसहर समुदायको जनसंख्या रहेकोमा सर्लाहीमा मात्र करिब २० हजार मुसहर रहेका छन् । कार्यक्रममा स्वस्तिक सहकारीका व्यवस्थापक विनोद थापा र साप नेपालका कोषाध्यक्ष केदारप्रसाद गौतमले तालिम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नबिल बैंकका क्लष्टर म्यानेजर दिनेश अधिकारीले बैंक तथा वित्तीय संस्थाको महत्वबारे बताउनुभएको थियो भने चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतोले मुसहर समुदायमा वित्तीय अज्ञानताका कारण बेला–बेलामा ठगिँदै आएकोमा तालिमले फाइदा पुग्ने बताउनुभयो ।

कार्यक्रममा नबिल बैंक चन्द्रनगर शाखा प्रमुख शशि खतिवडालगायत ३८ जनाको सहभागिता थियो । व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नबिल बैंकको सौजन्य तथा साप नेपालको आयोजनामा दुईदिने तालिमको आयोजना गरिएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले बताउनुभयो ।

Previous Post Next Post