शैक्षिकपात्रो प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ।

नेपाल प्राध्यापक संघको ६०औँ वार्षिक दिवस ९हीरक महोत्सव० समारोहको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान गर्न पनि आग्रह गर्नुभयो।

“कुनै पनि देशको विकास त्यस देशको शैक्षिक गुणस्तरका आधारमा मापन हुन्छ। त्यसैले इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालायले समाजमा आवश्यक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति तयार गर्नुपर्छ। त्यसमा प्राध्यापकले पूर्ण जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्दछु”, त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो।

उहाँले विश्वविद्यालय शिक्षालाई थप गुणात्मक र अनुसन्धानमूलक बनाउन राज्यका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको पठनपाठन गुणस्तरीय, जीवनउपयोगी, रोजगारमुखी, समसामयिक र प्रविधिमैत्री बनाई उच्च शिक्षालाई रोजगारमूलक बनाउन आग्रह गर्नुभयो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय शिक्षालाई अनुसन्धामुखी बनाई अन्तर्राष्ट्रियस्तरका शिक्षक र प्राध्यापकको आकर्षणको थलो नेपाललाई बनाउन प्राध्यापकले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। समारोहमा सङ्घका पूर्व सभापति एवं पूर्वमन्त्री भीमसेनदास प्रधानलगायतलाई सम्मान गरिएको थियो।

Previous Post Next Post